pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

सत्तागठबन्धनभित्र असन्तुष्टि:सुविधाजनक बहुमतको लक्ष्य, साधारण बहुमत पुर्याउनै हम्मे

images-(2)-1669468452.jpg

फाइल फोटो

 

संविधानको रक्षा, स्थिरता र समृद्धिलाई मुख्य नारा बनाई सुविधाजनक बहुमत हासिल गर्ने लक्ष्य लिई चुनावी मैदानमा उत्रेको सत्तागठबन्धनले अहिलेसम्मको मतपरिणाम हेर्दा बहुमत ल्याउने निश्चित भइसकेको छैन । 
अपेक्षाकृत नतिजा नआएको विषयलाई लिएर गठबन्धनका शीर्ष नेताहरूले प्रारम्भिक रूपमा मिश्रित प्रतिक्रिया दिएका छन् । तर, माओवादी र एकीकृत समाजवादीभित्र असन्तुष्टिका स्वर बढ्न थालेका छन् । 
निर्वाचनअघि माओवादी अध्यक्ष प्रचण्डले ‘गठबन्धनको बहुमत मात्र नभई कम्फर्टेबल बहुमत आउने’ दाबी गरेका थिए । अहिलेसम्म अन्तिम परिणाम त आएको छैन, तर अग्रता र जितको अवस्थालाई आधार मान्दा गठबन्धनले सहजै १३८ (सरकार निर्माणका लागि आवश्यक बहुमत) अंक प्राप्त गर्ने सम्भावना न्युन देखिएको छ ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महत गठबन्धनले अपेक्षा गरेअनुसार परिणाम नआउँदा फराकिलो बहुमतसहित सरकार बनाउने सम्भावना टरेको बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकतर्फ ल्याइरहेको सिट र मतले गठबन्धनको सिट संख्यामा प्रभाव पारेको उनले बताए । 

‘यद्यपि लोसपा, जनमोर्चा सबैको सिट जोड्दा हाम्रो गठबन्धनको ठिक्क बहुमतचाहिँ पुग्छ कि जस्तो देखिएको छ,’ उनले भने, ‘पुगिहालेन भने अरूलाई पनि ल्याउनुपर्ने अवस्था हुन सक्छ ।’ काठमाडौंलगायत सहरी भेगमा कांग्रेसले मतदातालाई जोड्न नसकेको महतको भनाइ छ । 

माओवादी उपाध्यक्ष हरिबोल गजुरेल १२बुँदे सहमति र परिवर्तनका सहयात्री दलहरूप्रति जनताको वितृष्णा बढ्दै गएको र त्यसको आक्रोशस्वरूप मधेसमा सिके राउत, काठमाडौंलगायत सहरी क्षेत्रमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएकोे बताउँछन् । 

‘माओवादी, एमाले, कांग्रेस सबै दलभित्र मतदाता र कार्यकर्ताले विकल्प खोजेको देखियो,’ उनले भने, ‘विकल्प दिन सके, पार्टी टिक्छन् नत्र देश दुर्घटनातिर जान्छ । वितृष्णास्वरूप नयाँ दलतिर जनताको आकर्षण देखिएको हो ।’ 

कांग्रेस प्रवक्ता महत गठबन्धनको अपेक्षा पूरा नहुनुका पछाडि मुख्यतः दुई कारण देख्छन् । पहिलो, एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले छाडेको नकारात्मक प्रभाव । 

‘ओलीले तीन वर्ष सरकार चलाउँदा बनेको नेगेटिभ सेन्टिमेन्टको असर हामीलाई पनि प¥यो,’ उनी भन्छन्, ‘उनले बिगारेको माहोल पूर्ण रूपमा सच्याउन समय पुगेन । नकारात्मक सेन्टिमेन्टको भार पनि बोक्नुप¥यो ।’

उनको विश्लेषणमा सामाजिक सञ्जालमा चलेको ‘नकारात्मक अभियान’ दोस्रो कारण हो । ‘अहिले सामाजिक सञ्जालको युग छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा पनि नकारात्मक हिसाबले नै अभियान चल्यो । यसको प्रभाव अहिलेका नयाँ पुस्तामा परेको देखियो ।’ उनका अनुसार यसको असर कांग्रेसको मतमा देखियो ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले माओवादी र एकीकृत समाजवादीलाई कांग्रेसको मत नखस्दा परिणाम सोचेअनुसार नआएको टिप्पणी गरे । 
‘गठबन्धनभित्र माओवादी र एकीकृत समाजवादीलाई कांग्रेसको मत नखस्दा परिणाम सोचेअनुसार आएन । त्यही कारण हाम्रा नेताहरू झलनाथ खनाल, विरोध खतिवडा, रामकुमारी झाँक्रीलगायतले हार व्यहोर्नुपर्यो । यद्यपि, गठबन्धनको बहुमत पुग्ने स्थिति देखिन्छ,’ उनले भने, ‘प्रत्यक्षमा सत्तागठबन्धनको ९० सिट आउने देखिन्छ । त्यसपछि समानुपातिकको जोड्दा बहुमत पुग्छ होला । मुस्किलले हामीले पनि थ्रेसहोल्ड कटाउँछाँै भन्ने लागेको छ । यद्यपि, यो परिणामले वाम एकताको आवश्यकता महसुस गराएको छ । अब पक्कै प्रयास सुरु हुन्छ ।’

लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुरेन्द्र झा भने कोठाभित्र शीर्ष नेतृत्वले आफूखुसी विचारहीन र अस्वाभाविक गठबन्धन गर्दा कार्यकर्ता र मतदातास्तरबाट अस्वीकार भएको बताउँछन् । 

‘गएको पाँच वर्षमा जसरी दुईतिहाइको सरकारका पार्टीहरू क्षतविक्षत् भए, मधेसकेन्द्रित दलहरू जसरी टुटफुट भए, नेपाली कांग्रेसले जसरी सरकारको नेतृत्व ग¥यो, न्यायालय जसरी यसमा मुछियो, भ्रष्टाचारका काण्डहरू जसरी बाहिर आए, यो सबै हेर्दाखेरी नेपाली जनतामा ठूलो नैराश्य पैदा भएको थियो । माथि दलीय गठबन्धन बने पनि पार्टीभित्रकै नेता–कार्यकर्तालाई चित्त बुझेको थिएन, त्यसैले मतदाताले स्वतन्त्र ढंगले आफूलाई जहाँ मन लाग्यो, त्यहीँ मत हालेको देखिन्छ,’ उनको टिप्पणी छ । 

गठबन्धनभित्र खासगरी कांग्रेसको मत अन्त जाँदा अपेक्षाकृत परिणाम नआएको उनको विश्लेषण छ । ‘गठबन्धनभित्रका दलले कांग्रेसलाई भोट हाले, तर कांग्रेस कार्यकर्ताले अन्य दल र मतदातालाई भोट हालेको देखिँदैन,’ उनले भने । 

राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीको मत पनि त्यस्तै छ । कांग्रेसको मत अन्त ट्रान्सफर नहुँदा गठबन्धनमा अपेक्षाकृत परिणाम नआएको उनी बताउँछन् । 
‘पहिलो त पुराना र ठूला भनिएका दल जसरी वषांैँदेखि शासन गरिरहेका थिए, त्यसप्रति जनताको ठूलो वितृष्णा थियो,’ उनले भने, ‘यसकै कारण उनीहरूले नयाँ दललाई भोट दिए । दोस्रो, कांग्रेसबाट अन्य दललाई इमानपूर्वक भोट ट्रान्सफर हुन नसक्दा असर परेको देखियो । जनमोर्चाले पनि दुईमध्ये प्युठानमा पाएको सिट त्यही कारण गुमायो ।’

गठबन्धनका अन्य दलबाट सोचेअनुरूप भोट नआउँदा परिणाम गडबड भएको माओवादी सचिव गणेश साहको समीक्षा छ । 
‘यो परिणामले केन्द्रले निर्णय गर्दैमा पहिलेजस्तो कार्यकर्तास्तरबाट स्वीकार हुँदैन भन्ने प्रस्टै देखियो,’ उनले भने, ‘स्थापित राजनीतिक दलहरूले जनताको असन्तुष्टिको राजनीतिक समाधान नदिने र स्वतन्त्र र उदीयमान दललाई नजरन्दाज गर्दा पनि यस्तो अवस्था आएको हो ।’ 

तर, कांग्रेस प्रवक्ता महत भने मत प्रतिशत कम भएका सहरी क्षेत्रमा सिट माग्नु नै माओवादी र एकीकृत समाजवादीको गल्ती भएको ठान्छन् । ‘उहाँहरूले सहरी क्षेत्रमा हामीलाई दिनुपर्छ भनेर माग्नुभएको थियो । हामीले दियौँ पनि । तर, त्यसलाई त्यहाँका मतदाताले स्वाभाविक रूपमा लिएनन् । त्यसको प्रतिक्रिया स्वरूप त्यो मत अन्त गयो । हामीले चाहँदा–चाहँदै पनि नियन्त्रण गर्न सकेनौँ,’ उनले भने । 

माओवादी उपाध्यक्ष गजुरेल भने कांग्रेस–एमालेभन्दा माओवादीबाट जनताले बढी आशा गरेका कारण आक्रोश पनि बढी आफूहरूमाथि नै पोखिएको बताउँछन् । 
‘हामीमाथि बढी आशा थियो, त्यसैले आक्रोश पनि बढी पोखियो । नत्र मत परिणाम हेर्दा कांग्रेस, एमालेले त आ–आफ्नो स्थान बनाएकै छन् नि !’ उनले भने । 

सत्तागठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपा छन् । केही ठाउँमा जनमुक्ति र स्वतन्त्र उम्मेदवारलाई पनि सत्तागठबन्धनको समर्थन थियो । यो गठबन्धनका तर्फबाट कांग्रेसले ९१, माओवादीले ४६, एकीकृत समाजवादीले २०, जनमोर्चाले दुई, लोसपाले सात, स्वतन्त्र दुई (घनश्याम भुसाल र प्रभु साह) र जनमुक्तिले एक सिटमा उम्मेदवारी दिएका थिए । 

अपेक्षाअनुसार मत नआएको प्रचण्ड र नेपालको गुनासो 
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचनको परिणामबारे दलका नेतृत्वहरूले गम्भीर भएर आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । 
गोरखा २ बाट निर्वाचित उनले शुक्रबार गोरखामै आयोजित धन्यवाद एवं शुभकामना कार्यक्रममा अपेक्षा गरेअनुसार गठबन्धनले सफलता प्राप्त नगरेको बताए । 

‘हामीले देशभर जसरी परिणाम आउला भनेर अपेक्षा गरेका थियौँ, त्यसरी अलि भएन । नसोचेको–नसोचेको, के–के भए भन्ने पनि छ । अब गठबन्धनको बैठकले आवश्यक समीक्षा गर्छ,’ उनले भने ।

देशमा आएको राजनीतिक परिवर्तन र हालसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति पनि दलका नेतृत्व सचेत रहनुपर्ने उनको भनाइ थियो । 
‘सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुगेको कुराहरूलाई मूल एजेन्डा होइन, एउटा आवेगमा देशलाई भावावेशमा आएर मानिसलाई कहीँ न कहीँ भ्रमित पार्ने गरी संकेत पनि देखा परे, म कसैलाई आरोप लगाउन चाहन्न, यो हाम्रा लागि चुनौती हो । यो परिस्थितिमा यदि ठूला–ठूला आन्दोलन र परिर्वतन ल्याउने राजनीतिक नेता, दल, एकचोटी आफैँभित्र फर्केर कहाँनेर कमीकमजोरी भए भनेर हेर्नुपर्छ । विचार र सिद्धान्तको अवमूल्यन हुने खतरा कसरी देखा पर्न खोज्या छ, समीक्षा गर्नुपर्छ ।’

अहिले देखिएको नयाँ शक्तिहरूको उदय दलहरूका लागि चुनौती भएको उनको जिकिर थियो । ‘म अहिले नै कसैलाई दोषी देख्ने, आरोप लगाउने वा आलोचना गर्ने पक्षमा छैन । तर, एजेन्डाभन्दा आवेग र भावावेगमा देशलाई र मानिसलाई भ्रमित पार्ने संकेत देखा परेछ,’ उनले भने । 

त्यस्तै, बिहीबार रौतहट १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत सोचेभन्दा फरक परिणाम आएको बताए । 
‘यसले हामीलाई शिक्षा दिएको छ । यसको समीक्षा गर्नुपर्छ । कमी–कमजोरी भएका छन् । अब जनताको विश्वास दिलाउन लाग्नुपर्छ,’ उनले भने । 

सरकार निर्माणबारे भने अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । ‘कसको सरकार बन्छ अहिले नै भन्न सकिने अवस्था छैन । पूर्ण परिणाम आएपछि यसबारे छलफल सुरु हुन्छ,’ उनले भने । 

वाम एकताको सम्भावनाबारे उनले नकार्न सकेनन्, तर यसका लागि केपी ओली सच्चिनुपर्ने उनको संकेत थियो । ‘वाम एकता हुन सक्छ, तर वामको नाममा गलत प्रवृत्ति बोकेर हिँड्छन् भन्ने सम्झौता हुन्न,’ उनले भने । नयाँ पत्रीका बाट 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg