jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

देश युवा मागिरहने, युवा विदेश भागिरहने

Rupa-Sunar-1698464341.jpg
  • रुपा सुनार

गत आर्थिक वर्ष वैदेशिक रोजगारमा जाने नेपालीको संख्याले रेकर्ड तोडेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३२७ नेपालीले देश छाडेका छन् । जम्माजम्मी ३ करोड जनसंख्या पनि नभएको देशबाट वार्षिक झण्डै ८ लाख युवा विदेशिनु निकै डरलाग्दो विषय हो । तर यस्तो गम्भीर विषयलाई न त वर्तमान सत्तापक्षले समस्याको रुपमा लिएको छ न त प्रतिपक्षीले नै । मुख्य कुरा त संसदीय व्यवस्थाभित्रका कुनै पनि राजनीतिक दलले यो विषयलाई नेपाली समाजको सबैभन्दा जटिल समस्याको रुपमा हेर्न भ्याएकै छैनन् । बरु, उनीहरु दिन दुईगुणा रात चौगुणाका दरले युवालाई विदेश पठाउन उद्धेलित छन् । किनकि जति धेरै युवा विदेश त्यति धेरै रेमिट्यान्स । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार जीडीपीको अनुपातमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने विश्वका मुलुकहरुमा नेपाल ११ औं स्थानमा छ भने दक्षिण एसियामा त पहिलो स्थानमै छ । तर यस्तो अवस्था सिर्जना भएकोमा वर्तमान सरकारलाई कुनै दुखेसो छैन । बरु, देशको अर्थतन्त्रको बलियो खम्बा नै रेमिट्यान्सलाई बनाएर देश चलाउनमा मस्त छ । युवा विदेशिदै छ, देश रित्तिदै छ –सरकारलाई छु मतलब ?

विदेशिनु रहर कि बाध्यता ?

अहिले मध्यम वर्गको निम्ति विदेशिनु अनिवार्य संस्कृति जस्तै बनेको छ । हिजोेआज स्कुलका विद्यार्थीहरुमा समेत ‘म त प्लस–टु सकेपछि फलानो देश जाने हो, अनि तँ नि ?’ जस्ता कुराकानी हुन थालेको छ । एकातिर मध्यम वर्गले किशोरावस्थादेखि नै म विदेश जान्छु, टन्न पैसा कमाउँछु र सुखमय जीवन बिताउँछु भन्ने सपना सजाउन थालेको छ । अर्कोतिर बिहान खाए बेलुका के खाउँको अवस्थामा रहेका सर्वहारा–श्रमिक वर्गका भने विदेशिने सपनाभन्दा धेरै बाध्यताहरु छन् । शुल्क तिर्न नसकेर पढिरहेको स्कूल छोड्न बाध्य विद्यार्थी, बिरामी हुँदा अस्पताल जाने आर्थिक हैसियतसम्म नभएको सर्वहारा–श्रमिक वर्गको प्रतिनिधि ३६ प्रतिशत ब्याजमा ऋण लिएर खाडी पस्नुपर्ने बाध्यता र प्लस–टु सकिने बित्तिकै २० लाख खर्चेर अस्ट्रेलिया हुँइकिने मध्यम वर्गको रहरलाई एउटै तुलोमा राखेर हेर्न मिल्दैन । किनकि चुलोे बाल्नकै निम्ति देश छोड्ने युवा र विदेशी नागरिकता लिएर परिवारसहित युरोप, अमेरिका पलायन हुने युवाको वर्ग फरक छ र फरक वर्गकै कारण उनीहरुको भोगाई र जीवनशैली पनि बिलकुल फरक छ ।

स्वदेशमै सामान्य गुजारा चलाउन पुग्ने पैसा कमाइरहेको छ । तर उसलाई युरोप हुइँकिन मन लाग्छ । किनकि उसलाई बजारवाद र निजी सम्पत्तिको प्रतिस्पर्धाको भोकले यसरी छोएको हुन्छ कि ब्रान्डेड मोबाइल बोक्नु,ल्यापटप बोक्नु, हप्तैपिच्छे ब्रान्डेड कपडा किन्नु,सके शहरमा नसके शहर छेउछाउ पक्की घर बनाउनु, महङ्गो मोटरसाईकल वा गाडी चढ्नु र धुमधामले विवाह गर्नु उसको अनिवार्य आवश्यकता भइदिन्छ । त्यसकारण, स्वदेशमै आत्मनिर्भर भएर समाज परिवर्तनको निम्ति मैले पनि केही योगदान दिनुपर्छ भन्नेतिर ध्यान दिन उसलाई फिटिक्कै मन लाग्दैन । नेपाली समाजको मुख्य समस्या बेरोजगारीका कारण निम्तिएको गरिबी भएकाले ८० लाख युवा विदेशिनु पर्ने अवस्था आयो भन्ने भ्रम छरिएको छ । तर, मुख्य समस्या बेरोजगारी होइन, दलाल पुँजीवादी संसदीय व्यवस्थामा आधारित राज्यसत्ता हो । मुख्य समस्या जसरी सतहमा देखिएको बेरोजगारी र गरिबी त केवल यो व्यवस्थाको परिणाम मात्र हो । यदि मुख्य समस्या बेरोजगारी र गरिबी हुन्थ्यो भने दलाल पुँजीपति वर्ग र मध्यम वर्ग केवल घुम्न मात्र विदेश जान्थ्यो नकि विदेशी नागरिकता लिएर उतै पलायन हुन । र, विदेश जानेहरुको लाइनमा सर्वहारा–श्रमिक वर्ग र विस्थापित वर्ग मात्र हुन्थे । तर, यहाँ देश छोड्नेमा संसदीय व्यवस्थाका हर्ताकर्ताका छोराछोरीदेखि चिकित्सक,इन्जिनियर,चार्टर्ड एकाउन्टेन्ट,नर्स, भेटेनरी डाक्टर,कृषि विज्ञ,प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र,जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिसम्मको लर्को छ । त्यसकारण युवा शक्ति विदेशिनु वाध्यता मात्र नभएर आजको व्यवस्थाले थोपरिदिएको दास मानसिकताको उपज पनि हो ।

किन सक्दैन सरकार युवालाई विदेशिनबाट रोक्न ?

देशले युवा मागिरहने, युवा विदेश भागिरहने जस्तो डरलाग्दो परिस्थितिबाट देशलाई बचाउन केवल क्रान्तिकारीहरुले मात्र सक्दछन् । अबको क्रान्ति त्यस्तो विचार बोकेको युवाले मात्र अगाडी बढाउन सक्दछ, जसले आफ्नै मौलिक अर्थतन्त्र विकास गरी आत्मनिर्भर अर्थतन्त्रसहितको समुदाय बनाउन सचेत प्रयत्न गर्दछ ।

वर्तमान राज्यसत्ता दलाल पुँजीवादी संसदीय व्यवस्थामा आधारित राज्यसत्ता हो । स्वदेशमा थोपो उत्पादन नगरी बहुराष्ट्रिय कम्पनीको सामान आयात गर्नु र जनतालाई महङ्गो मूल्यमा बिक्री गरी राज्यसत्ता वरिपरिका सीमित बिचौलियाले नाफा कमाउनु यो व्यवस्थाको मुख्य विशेषता हो । स्वदेशी उत्पादनलाई विभिन्न बाहनामा खाल्डोमा हुत्याउँदै, महङ्गो मुल्यमा विदेशी माल बिक्री गरी जनताको ढाड सेक्ने गरेको दृश्यको साक्षी हामी स्वयम् नै छौँ । केवल दलाली मात्र गरेर आलोपालो सत्तामा पुग्ने छुट प्राप्त गरेका नेताहरुको निम्ति स्वदेशमा उत्पादन गर्नु र उद्योग धन्दाको विकास गर्नु बेकारको दुःख बेसाउनु हो । फेरि बिचौलियाको चन्दाले चुनाव जिती सत्तामा पुगेका नेताहरुमा बिचौलियाकै नाफा विपरीत स्वदेशी उत्पादनमा जोड दिनसक्ने हिम्मत कहाँबाट आउनसक्छ ? एकैपटकमा बिचौलिया र जनता दुवैको भलाईको निम्ति काम गर्नु असम्भव कुरा हो । त्यसकारण दलाल संसदीय व्यवस्थाभित्र राजनीतिक दलहरुसंग उत्पादनसहित आत्मनिर्भर अर्थतन्त्र विकाससम्बन्धी कार्यक्रमको कुनै खाका हुने त कुरै भएन । र, उत्पादनबिना युवालाई विदेशिनबाट रोक्न सम्भव नै छैन । यदि कुनै सरकारले दैनिक तीन हजारका दरले विदेश जाने लाइनमा बसेका युवामध्ये कम्तीमा एक जनालाई मात्रै पनि स्वदेशमै रोकी आत्मनिर्भर बनाउने ग्यारेन्टी लिनसक्छ भने मात्र यो व्यवस्थाले युवालाई विदेशिनबाट रोक्नसक्छ भन्ने विश्वासकोे आधार बन्दछ । अन्यथा देशलाई एक केजी गोलभेडा र गुन्द्रुकसम्म पनि उत्पादन गर्न नसक्ने ठाउँमा पु¥याउने र फेरि पनि यही व्यवस्थाभित्रै रहेर स्वदेशमा रोजगारीको सिर्जना गर्छौ भन्ने हावादारी आश्वासन कसैले दिन्छ भने त्यो निकै हास्यास्पद हुनेछ ।

को हुन युवा ?

बृहत् नेपाली शब्दकोषका अनुसार १६ देखी ४० वर्षसम्मका वा जवानीले नछोडेको, बुढ्यौलीले नछोएको व्यक्तिलाई युवा भनिन्छ । तर युवा हुनुको पहिलो सर्त उमेरलाई मान्नु बिलकुल गलत हो । कोही केवल उमेरले मात्र वास्तविक युवा हुन सक्दैन । युवा हुनको निम्ति उसँग राजनीतिक चेत हुनु अनिवार्य छ । ठिक विचार हुन आवश्यक छ । खराब तत्त्वहरुविरुद्ध लड्ने चेतना र साहस हुनु जरुरी छ । नेपालको सन्दर्भमा हेर्दा निम्न व्यक्तिलाई केवल उमेरको आधारमा मात्र युुवा मान्न सकिन्न । एक, जो नेपाली समाजको वर्ग निर्माणमा सबैभन्दा मुख्य भूमिका खेल्ने जात व्यवस्थाको विषयमा सामान्य जानकारी राख्दैन । र, जात व्यवस्थालाई स्वीकार्छ । दुई, पितृसत्ताको उन्मूलन चाहँदैन । तीन, मासिक ६५ हजारले देश छोडेको समाचार सुन्दा यसो हुनुको कारण खोज्नतिर चासो लाग्दैन । चार, दैनिक सरदर ४ जना नेपालीको शव नेपाल भित्रिने विषयले जसलाई छुँदैन । पाँच, हरेक वर्ष दोब्बरले बढ्ने महङ्गीविरुद्ध जसलाई चुइँक्क आवाज निकाल्न मन लाग्दैन । छ, ‘जागृति महिला महासंघ’का अनुसार नेपालमा ७० हजार महिला यौनकर्ममा सहभागी छन् भने प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार विगत पाँच वर्षमा मात्रै (वि.स २०७४–२०७९) २९ हजार २ सय ६६ जनाले आत्महत्या गरेका छन् । यस्तो तथ्याङ्क सार्वजानिक हुँदा राज्यप्रति आक्रोश पैदा हुँदैन र सम्पूर्ण धार्मिक अन्धताबाट मुक्त भएर विज्ञानमा विश्वास गर्दैन भने उसलाई उमेरले युवाको परिभाषाभित्र पर्दैमा युवा मान्न सकिँदैन । यसर्थ, युवा हुुनु भनेको केवल जवानीले नछोड्नु र बुढ्यौलीले नछुनु मात्र होइन, युवा हुनु भनेको परिवर्तनको निम्ति इतिहासले सुम्पेको क्रान्तिको अभिभारा वर्तमानमा पूरा गर्ने प्रयत्न गर्नु र क्रान्तिकारी बन्नु नै साँचो अर्थमा युवा हुनु हो ।

के युवालाई विदेश जानबाट रोक्न सम्भव छ ?

आजको सत्ताले निर्माण गरेको चेतना र परिस्थितिका कारण विदेशिन तयार भएका युवालाई स्वदेशमै रोक्न सचेत व्यक्तिहरुले एक चरण निक्कै जोडबल लगाउनु पर्ने देखिन्छ । जसको निम्ति सर्वप्रथम त राजनीति बाहेक अन्य प्रयत्नबाट परिवर्तन सम्भव छैन भन्ने विषय आजको नयाँ पुस्तालाई बुझाउन अत्यन्तै जरुरी छ । जसको सुरुआत यससम्बन्धी व्यापक बहसबाट गरिनुपर्दछ । क्रान्तिकारी युवा पंक्तिले अब यस्तो अभियानको थालनी गर्नुपर्दछ कि जुन अभियानले आजको व्यवस्थाविरुद्ध नयाँ वैचारिकीसहित वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न सम्भव छ भन्ने कुरा सक्दो धेरै युवाको माझ पुर्‍याउन सकोस् । अब गरिने क्रान्ति आत्मनिर्भर अर्थतन्त्रसहितको हुनुपर्दछ भन्ने विषय पनि सम्पूर्ण युवाहरु माझ अनिवार्य रुपमा पुर्‍याउन सकोस् । जसले गर्दा विदेश जाने योजनामा रहेको युवा नेपालमै उत्पादनमा जोडिन तयार होस् । २० लाख खर्चेर अस्ट्रेलिया जान तयार युवा आफ्नै अर्थतन्त्र निर्माणको निम्ति ५ लाख लगानी गर्न किन तयार नहुने ? अवश्य हुनुपर्दछ । यसरी दैनिक २५ सयका दरले विदेशिन तयारमध्ये कम्तिमा एक जना युवालाई मात्र रोक्न सक्ने हो भने मासिक ३० जनालाई विदेश जानबाट रोक्न सकिन्छ र यो संख्या क्रमशः बढ्दै जानेछ । देशले युवा मागिरहने, युवा विदेश भागिरहने जस्तो डरलाग्दो परिस्थितिबाट देशलाई बचाउन केवल क्रान्तिकारीहरुले मात्र सक्दछन् । अबको क्रान्ति त्यस्तो विचार बोकेको युवाले मात्र अगाडी बढाउन सक्दछ, जसले आफ्नै मौलिक अर्थतन्त्र विकास गरी आत्मनिर्भर अर्थतन्त्रसहित समुदाय बनाउन सचेत प्रयत्न गर्दछ ।

पंक्तिकार वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य हुन् ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...