Tuesday, 14 May, 2024
विचार / अन्तरवार्ता

थाहामा मन्त्री फुयाँलको एकैदिन ४ वटा कार्यक्रम, चुनावी कोण सभाको झल्को

rameshowr-1605524172.jpg

कुमार नेगी
अहिले कुनै आम निर्वाचन भइरहेको छैन । न त कुनै राजनीतिक आन्दोलको घोषणा नै भएको छ । त्यसैले सामान्यतया कोण सभा/आम सभाका कार्यक्रमहरु पनि नहुने नै भए । तर, गत कात्तिक २७ गतेको बागमती प्रदेशका भौतिक मन्त्री रामेश्वर फुयाँल सहभागी थाहानगरका  कार्यक्रमहरु हेर्दा कतै कुनै निर्वाचन हुन लागिरहेको हो की भन्ने महसुस भने धेरैले गरे । सामान्यतया मानिसहरुले चुनावको बेलामा मात्र नेताहरु भ्याइनभ्याईसँग दौडेको र टोलटोलमा पुगेर कोण सभाहरु गरेको देखेका छन् । 


एकै दिन चारवटा कार्यक्रम
त्यसदिन विहान साँढे ८ बजे सीमभन्ज्याङमा कार्यक्रम तय गरिएको थियो । थाहानगरका प्रमुख लवशेर विष्ट, राजनीतिक सल्लाहकार विष्णु विष्ट, नेकपा थाहानगरका सचिवालय सदस्य विमलकुमार ढकाललगायत टोली सीमभन्ज्याङ पुग्नुअगावै हेटौंडाबाट भौतिक मन्त्री सीमभन्ज्याङ आइसक्नुभएको थियो । उहाँसँग मन्त्रालयका सचिब, डिभिजन खानेपानीका प्रमुख, डिभिजन सिँचाइका प्रमुखलगायत उच्च तहका अधिकारीहरु पनि थिए । त्यहाँ १ घण्टाजति कार्यक्रम भयो । त्यसपछि हुईंकिएको मन्त्रालय, मन्त्रालयअन्तर्गतका कार्यालय, थाहा नगरपालिका सहितको सरकारी गाडीहरुको लावालस्कर थाहा–३ गोपाली गाउँमा गएर रोकियो । त्यहाँ पनि १ घण्टाजति कार्यक्रम भयो । त्यसपछि थानाबजारमा हतारहतार खाना खाएर टोली थाहा–१ कुन्छाल पुग्यो । त्यहाँ अलि बढीसमय कार्यक्रम चल्यो । कुन्छालबाट थाहा–९ चित्लाङ पुग्दा झण्डै ५ बज्न लागेको थियो । घाम डुब्ने बेला चित्लाङको गुर्जुधारामा कार्यक्रम शुरु भयो । कार्यक्रम सकिँदा झण्डै झमक्क भैसकेको थियो । 

कोण सभाको झल्को
एकै दिन भएका चारवटै कार्यक्रमहरु लगभग एउटै प्रकृतिका थिए । सीमभन्ज्याङको कार्यक्रम अनौपचारिक प्रकृतिको भए पनि चारैवटा कार्यक्रममा प्रमुख वक्ता भौतिक मन्त्री रहनुभएको थियो । त्यसपछिको वक्ता थाहा नगरपालिकाको प्रमुख र उपप्रमुख रहनुभएको थियो । चित्लाङका कार्यक्रममा भने नगर प्रमुख÷उपप्रमुखले बोल्नु भएन । सबै कार्यक्रम स्थलमा प्रवेश गर्दा स्थानीयले गलाभरि  सयपत्री फूलको माला पहि¥याइदिएका थिए । दुई ठाउँमा बाजा बजाएर स्वागत गरिएको थियो । एकातिर अतिथिहरु र अर्कातिर सर्वसाधारण बस्नेगरी बसाई व्यवस्थापन गरिएको थियो । कुन्छालको कार्यक्रममा स्पिकर(साउण्ड सिस्टम)को पनि व्यवस्था गरिएको थियो । 

आश्वासन र ताली
मुख्य वक्ताको रुपमा भौतिक मन्त्रीले बोल्नुहुँदा बेलाबेला पररर ताली बज्थ्यो । अब गाउँमा साँच्चै विकास हुने भयो, केही राम्रो हुने भयो भन्ने भाव उपस्थित टोलबासीहरुमा झल्किएको देखिन्थ्यो । मन्त्री फुयाँलले सीमभन्ज्याङमा पर्वतीय ताल बनाउने, गोपाली गाउँमा सेतीगणेश मन्दिर र धारा संरक्षण, कुन्छालमा साँस्कृतिक सम्पदा संरक्षण र चित्लाङमा धारा संरक्षण तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक बनाउने विषयमा बोल्नु भयो ।  हरेक कार्यक्रममा उहाँले भन्नुभयो, ‘एक खुट्टो स्थानीयको, एक खुट्टो नगरपालिकाको र अर्को दुई खुट्टो प्रदेश सरकारको ।’ उहाँले दुई खुट्टा प्रदेश सरकारको रहने आश्वासन दिनुभयो ।  थाहा नगरवासीलाई आश्वस्त  पार्दैै मन्त्री फुयाँलले कुन्छाल -कुुुुलेखानी सडक ४५ वर्ष पुराानो भएपनि अहिलेसम्म पिच हुुन नसकेकाेेमा अब पिच हुने बताउनुभयाेे । ' एकैपटक सबै पिच नहाेला, तर शुुरुवात हुुुुन्छ' उहाँले भन्नुुुुुुभयाे । उहाँले थप्नुभयो, ‘गाउँ र सहर बराबरी, महिला र पुरुष बराबरी, शारीरिक र मानसिक श्रम बराबरी ।’ यति भन्दै उहाँले सभामा महिलाहरु गन्नुहुन्थ्यो । उहाँले नगर प्रमुख लवशेर विष्टलाई आगामी दिनमा कार्यक्रम आयोजना गर्दा महिलालाई पनि वक्ता बनाउन आग्रह गर्नुभयो । 

लिच्वविपछिको स्वर्ण युग
कात्तिक २७ गतेको चारवटै कार्यक्रममा मन्त्री फुयाँलले नछुटाउनु भएको अर्को विषय हो, ‘दुई तिहाइको सरकार, राजनेता ओली र लिच्छविपछिको स्वर्ण युग ।’ कार्यक्रमहरुमा भौतिक मन्त्रीले तेलदेखि रेलसम्मको कार्यक्रममा सफल ‘राजनेता’ ओलीको कारण इतिहासमा लिच्छवि कालपछि अर्थात् १२ सयवर्षपछि फेरि स्वर्ण युग आएको बताउनुभयो । केन्द्रमा केपी ओली प्रधानमन्त्री, सरकारमा डोरमणि पौडेल मुख्य मन्त्री र स्थानीय तहमा लवशेर विष्ट÷खड्ग गोपालीहरुको नेतृत्व भएको बेला सफल नभए कहिले हुने ? इतिहासले मागेका पात्रहरु अहिले मुख्य भुमिकामा रहेकोले उहाँहरुबाटै विकास सम्भव हुनेमा मन्त्री फुयालको पूर्ण विश्वास छ । 

कुराले चिउरा भिज्दैन
तत्कालिन नेकपा एमालेका महासचिब स्व. मदन भण्डारीको भनाईलाई मन्त्री फुयाँलले चारवटै कार्यक्रममा सम्झिनुभयो । भाषणको अन्त्यतिर मन्त्री फुयाँलले भन्नुहुन्थ्यो, ‘कुराले चिउरा भिज्दैन ।’ उहाँले कामै गरेर देखाउने वाचा गर्नुभएको छ । आफ्नो गाउँको विकासमा गाउँकै मानिसहरु अघि सर्नुपर्छ भन्नेमा मन्त्रीको जोड रहेको थियो । 

फूल रोप्नुस्, विरुवा रोप्नुस्
कार्यक्रमहरुमा मन्त्री फुयाँलले प्रत्येक घरपरिवारले कम्तिमा २/२ फूल तथा विरुवा रोप्न आग्रह गर्नुभयो । सीमभन्ज्याङको कार्यक्रममा त अझ उहाँले पर्वतीय ताल निर्माणको प्रक्रियासँग एक महिनाभित्र फूल र विरुवा रोप्न स्थानीयहरुलाई समय नै तोकिदिनुभयो । उहाँले भन्नुभयो–‘एक महिनामा म आउँछु, तपाईंहरु प्रत्येकको घरमा दुईदुईवटा फूल र विरुवा रोपिएको हुनुपर्छ ।’ मन्त्री फुयाँलले यसो भनिरहँदा अहिले तुषारो पर्ने समयमा फूल र विरुवा दुबै रोप्ने काम उपयुक्त नभएको भन्दै एकअर्कामा कानेखुसी गरेका थिए । करुणाभूमि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विनोद लामाले त्यसैबखत भन्नुभयो, ‘पर्वतीय तालको विकासका लागि हाम्रो तर्फबाट अग्रसरता हुन्छ, तर मन्त्री ज्यूले भन्नुभए जस्तो फुल रोपेपनि तुषारोबाट जोगाउन गाह्रो छ ।’

अन्त्यमा,

विषय फरक भए पनि उही नेता, उही वक्ता, उस्तै संख्यामा सहभागिता, उस्तै  तामधाम, उस्तै शैलीको चारवटा कार्यक्रमको रिपोर्टिङ गरेर फर्किँदा रात छिप्पिन लागेको थियो । जिउ थकित भएको थियो । यो आलेख बिट मार्दै गर्दा मन्त्री फुयाँलले भनेको कुरा सम्झिरहेको छु, ‘कुराले चिउरा भिज्दैन ।’ मन्त्री फुयाँलले भन्नु भएजस्तै काम भयो भने कात्तिक २७ गतेका कार्यक्रमहरु विकासका लागि कोशे ढुङ्गा बन्नेछ, अन्यथा चुनावी कोण सभाभन्दा कुनै फरक हुने छैन । 

(नेगी थाहापाटी डटकमकाे सम्पादक हुनुहुन्छ ।)


 


world-link-1690434568.jpg
बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...