Thursday, 25 Apr, 2024
विचार / अन्तरवार्ता

आजको युगमा वातावरण विज्ञान विषय र यसको सान्दर्भिकता

Photo-1674197421.jpg
  • विवेक तमु

“कस्ता मुर्खहरु रहेछन् ७ लाख तिरेर वातावरण विज्ञान पढ्न आउँछन् यार!” देशकै उत्कृष्ट विश्वविद्यालय भनिने काठमाडौं विश्वविद्यालयको चिया पसलहरुमा धेरै सुनिने वाक्य मध्ये यो पनि एक हो, अनि छेउमा चिया पिइरहेको उसले घोषित गरेको मुर्खहरुको प्रतिनिधि मध्ये एक म मुसुक्क हाँसेर सुनिरहे, आफूलाई विज्ञ घोषित गर्दै उ खूब यो विषयको आलोचना गरिरहन्छ! अनि अन्त्यमा निष्कर्ष निकाल्छ “यिनीहरुले यो विषय पढेर नगरपालिकामा फोहोर उठाउने हो”।

विश्वविद्यालयमा नयाँ साथीहरुसँग परिचय हुनु स्वाभाविक हो। कति नयाँ साथीहरुसँग परिचय हुँदा कुन विषय पढ्छौ भन्ने प्रश्नको उत्तर वातावरण विज्ञान भन्ने दिँदा मेरो मुखबाट भागवत गिताको संस्कृत वाला श्लोक निस्के जसरी नै अचम्म पर्छन्, अनि प्रश्न गरिहाल्छन् यो विषय पढेर गर्ने चाहिँ के हो? यसको सान्दर्भिकता के? आफूलाई शिक्षित भन्ने जमातमा समेत यस विषय सम्बन्धी अन्योलता छ भने औपचारिक शिक्षा नपाएकाहरु अपवाद बाहेक कसलाई पो थाहा होला? त्यसैले यहाँ वातावरण विज्ञानको सान्दर्भिकता बारे कलम चलाउने र बहस उठाउने प्रयत्न गरेको छु ।

हामीले यस विषयलाई कसरी बुझ्ने? वैज्ञानिकहरु वातावरण विज्ञानको परिभाषा दिँदा तिमी बाहेकका, तिम्रो वरिपरि भएका सबै कुराहरुको अध्ययन गर्नुलाई वातावरण विज्ञान भनिन्छ भनेर व्याख्या गर्नु हुन्छ। जसको मतलब आम मानिसहरुले यस विषयलाई हेर्ने दृष्टिकोण ज्यादै नै साँघुरो छ भन्ने बुझिन्छ। त्यसैले हामीले रुख, विरुवा, हावा, पानी, माटो, जमिन, जीवजन्तु, हिमाल, वायुमण्डल,अन्तरिक्ष आदि इत्यादिको अध्ययन गर्नु मात्र यस विषयको विषयवस्तु माने अन्याय हुनेछ । त्यसैले म चाँहि हामीले खडा गरेका हरेक संस्कृतिहरुको अध्ययन पनि यस भित्र पर्छन् भनेर बुझ्न सबैमा आग्रह गर्दछु। अझ भन्नै पर्दा वातावरण विज्ञानमा म तपाइँले अध्ययन गर्ने वातावरण विज्ञान भित्रको पात्र र तपाइँ मेरो अध्ययन भित्रको एक पात्र भित्र पर्नुहुन्छ । त्यसैले यो विषय निकै महत्त्वपूर्ण छ र विश्वविद्यालयमा अध्ययन हुने हरेक विषयको वातावरणसँग द्वन्द्वात्मक सम्बन्ध रहेको छ ।

८७ लाख प्राणी मध्ये आफ्नो विलुप्तता बारे थाहा पाउने पहिलो प्राणी:

ब्राह्मण्डको उत्पत्ति करिब १३.७ अरब वर्ष पहिले विलक्षणताको (जसको असिमित घनत्व र गुरुत्वाकर्षण थियो) महाविस्फोटबाट भएको तथ्य हामी सामु रहेको छ। उक्त महाविस्फोट अघि समय र स्थान नभएको कारणले गर्दा यो महाविस्फोट बिना स्थान र समयमा नै भएको मान्नु परेको छ । उक्त समय देखि आज सम्म पनि ब्राह्मण्ड फैलिरहेको छ। पृथ्वीको गठन भने ४.५ अरब वर्ष अघि भएको तथ्याङ्क वैज्ञानिकहरुले पेश गरेका छन । यस भूमिमा करिब ३.८ अरब वर्ष अघि जीवहरु देखा परेको हो । मानवजाति भने पहिलो पटक अफ्रिकाबाट ३ लाख वर्ष अघि उत्पत्ति भएर विश्वका विभिन्न भागमा छरिएको तथ्य हामी माझ रहेको छ । ४.७ अरब वर्षको उमेर भएको पृथ्वीमा जीवहरुको इतिहास अध्ययन गर्ने हो भने पनि अहिले सम्म यहाँ उत्पत्ति भएका करिब ९९% प्रतिशत जीवहरु लोप भइसकेको अप्रत्याशित तथ्य हाम्रो माझ रहेको छ ।

यस अवधिमा जीवहरुको ५ वटा ठुला सामूहिक विलुप्तता भएको विज्ञानले प्रमाणित गरेको छ । यी सबैको कारण जलवायु परिवर्तन नै हो भन्ने कुरामा कुनै सन्देह छैन । जलवायुमा परिवर्तन संगै पुरानो जीवहरुको अस्तित्व समाप्तिसँगै नयाँ जीवहरुको विकास र उत्पत्ति भएको देखिन्छ। यसैक्रममा ५ औँ सामूहिक विलुप्तता आज भन्दा ६.६ करोड वर्ष अघि पृथ्वीको आजको मेक्सिकोमा पर्ने भूभागमा एउटा क्षुद्रग्रहले (Asteroids) ठक्कर दिएर भएको थियो । जसले गर्दा उक्त समयमा राज गरिरहेको प्राणी डाइनोसर लगायत अन्य थुप्रै प्राणीहरुको अस्तित्व समाप्त भएको थियो । उक्त घटनाले गर्दा पृथ्वीमा नयाँ अन्य जीवहरुका लागि अनुकूल पर्यावरणको निर्माण भएको थियो । त्यसरी नै जीवहरुको निरन्तर विकासको क्रममा विभिन्न उत्पतिका चरणहरु पार गर्दै अहिलेको आधुनिक मानवजाति पनि करिब ३ लाख वर्ष पहिले अफ्रिकामा विकासित भएर विश्वका विभिन्न भागमा छरिएको तथ्य हाम्रो सामु रहेको छ। अर्को रोचक कुरा के छ भने अझै पनि मानवजातिको इतिहास पूर्ण रुपमा हामीलाई थाहा छैन र यस विषयमा व्यापक खोज र अनुसन्धान भइरहेको छ। यस सम्बन्धी अझ विस्तृत ज्ञान र पृथ्वीमा मानवजातिको आधिपत्य र शासन कसरी कायम भयो भन्ने विषयका ज्ञानका लागि हरारीको `Sapiens´भन्ने पुस्तक निकै उपयोगी रहेको छ । उक्त पुस्तकमा मानवजातिको संज्ञानात्मक क्रान्ति देखि, कृषि क्रान्ति, मानवजातिको एकता र वैज्ञानिक क्रान्ति सम्मका तथ्य र तर्क सरल भाषामा प्रस्तुत गरिएको छ, त्यसैले यस सम्बन्धी चर्चा मैले यँहा गरिन र सिधै विषयवस्तु तर्फ लाग्न चाहन्छु ।

माथिका तथ्यहरुबाट आधुनिक मानवजातिको उत्पत्ति ३ लाख वर्ष अघि भएपनि वातावरण भन्ने कुरा चाँहि महाविस्फोटको समय देखि नै भएको मान्नु पर्ने हुन्छ । फरक यत्ति मात्र हो कि उक्त समयको वातावरण हाम्रो जीवनका लागि उपयुक्त थिएन । वैज्ञानिक चर्ल्स डार्विनको जातिहरुको उत्पत्तिको सिद्धान्त अनुसार प्राकृतिक चयनको सिद्धान्त र सबै भन्दा योग्यतमको अस्तित्वको सिद्धान्त अनुसार मानवजाति पनि मानवका अरु प्रजातिहरुबाट छानिएर आएको हुन सक्ने वा अन्तर प्रजननबाट आएको भन्ने दुइवटा अवधारणाहरु हामीसँग रहेको छ । यसरी समयसँगै विभिन्न सभ्यताहरुको विकास गर्दै यहाँ सम्म आइपुग्दा मानवजातिले अरु प्राणीहरु भन्दा यति व्यापक विकास गरेको छ कि उ आफू आफ्नै कारणले विलुप्त हुन लागेको थाहा पाउने पहिलो प्राणी बनेको छ ।

जीवाश्म इन्धनमा निर्भर मानव सभ्यताका कारण जलवायु परिवर्तन र सामूहिक विलुप्तता :

सन् १९८८ मा संयुक्त राष्ट्र पर्यावरणीय कार्यक्रम र विश्व मौसम विज्ञान संगठन अन्तर्गत स्थापना भएको जलवायु सम्बन्धी अन्तरसरकारी प्यानल अर्थात IPCC ले २०२१ मा प्रकाशन गरेको प्रतिवेदनले पहिलो निष्कर्षमा नै मानवीय क्रियाकलापले वायुमण्डल, महासागर र जमिनलाई तताएको र यी सबै कुराहरुमा तिव्र परिवर्तन भएको उल्लेख गरेको छ । यसले थप तथ्यहरु हाम्रो माझ प्रस्तुत गर्‍यो जसमा सन् १७५० यता हरितगृह ग्याँसहरुमा भएको वृद्धि स्पष्ट रूपमा मानव जातिका कारण भएको, सन् २०११ बाट थप ग्याँसहरुको मात्रमा वृद्धि भएको, सन् २०१९ मा मात्र ४१० प्रति दश लाख कार्वन डाइअक्साइड र १८६६ प्रति अरब मिथेन, ३३२ प्रति अरब नाइट्रस अक्साइड(N2O) उत्सर्जन भएको छ । यी सबै हरितगृह ग्याँसको वृद्धिका कारण घामबाट आएका किरणहरु पृथ्वीबाट बाहिर जान रोकिएका छन् । अनि हाम्रो पृथ्वी उग्र रूपमा तातिने क्रममा छ । पर्यावरणीय दृष्टिकोणबाट हेर्दा हामीले पृथ्वीको तापक्रम यस्तो गतिमा बढाएका छौँ कि अब प्रत्येक वर्ष २ डिग्री भन्दा बढी गतिमा तापक्रम बढाए केही वर्षमा पृथ्वी मानव बस्ती बस्न उपयुक्त हुने छैन भनेर वैज्ञानिक र पर्यावरणविदहरुले हामीलाई सजक गराइ रहेका छन् । डेथ भ्याली, क्यालिफोर्नियामा सन् २०२१ मा तापक्रम ५४.४ डिग्री सेल्सियस पुगेको थियो, जुन अहिले सम्मकै पृथ्वीमा मापन गरिएको उच्च तापक्रम रहेको छ । एउटा अध्ययनका अनुसार १°C तापक्रम परिवर्तनले ७% बढी वर्षा जम्मा हुने तथ्याङ्क बताउँछ जसले गर्दा पानीको चक्रमा परिवर्तन आएर मौसम सम्बन्धी क्षति झन बढेर मानवजाति र पर्यावरणको हानि गर्ने वैज्ञानिकहरुको अध्ययन रहेको छ ।

हाम्रो मानव सभ्यता नै जीवाश्म इन्धनमा निर्भर रहेको छ । उर्जाको रूपमा जीवाश्म इन्धन प्रयोग गर्नाले प्रारम्भिक चरणमा विकास त भयो तर अहिले यसले निकाल्ने ग्याँसका कारण आफैँ बन्धन बन्न पुगेको छ । मानव जातिले मासु मात्र यति उत्पादन गर्न पुगेको छ कि कार्बन उत्सर्जनमा त्यसले दोस्रो स्थान ओगट्न सफल भएको छ । सिमेन्ट, फलाम र विभिन्न धातुहरुबाट बन्ने पक्की घर त बनायो तर यसले हरितगृह उत्पादन गर्न प्रथम भूमिका खेल्न थाल्यो । दिनमा दुई घण्टा पनि प्रयोग नहुने १ अरब भन्दा बढी कारहरु उत्पादन गर्‍यो, जसले यातायातमा त सहज भयो तर उत्सर्जन गर्न तेस्रो स्थानमा भूमिका खेल्न थाल्यो । समुन्द्रका पानीमा यति एसिड थपिए कि पानीमा पाइने जीवहरु लोप हुन थालेका छन् । यसरी मानव जाति जीवाश्म इन्धन सभ्यता, उपभाेक्तावाद र आर्थिक वृद्धिमा यति रमाइ सकेकाे छ कि ऊ आफ्ना पुर्खाले जाेगाएर ल्याएकाे पर्यावरण भावी पुस्तालाई पनि जाेगाउन पर्छ भन्ने कुरा थाहा भएर पनि बिर्सन चाहेकाे छ । पर्यावरण गिरावटका कारणहरु जस्तै भूमि क्षति, प्रदुषण (हावा, पानी, जमिन, माटाे, ध्वनी), जनसङ्ख्या वृद्धि, वन फँडानी, आधुनिक सहरीकरण, बढ्दाे औद्योगीकरण र प्राकृतिक कारण आदि हुन् । मानवजातिले प्राकृतिक स्राेतकाे दाेहन जुन याे पछिल्लाे १०० वर्षमा गरेका छन् त्यति हामीले याे १०० वर्ष भन्दा पहिलेकाे समयमा पनि गरेका थिएनाैँ । आज हामीले गरेकाे पर्यावरणकाे चरम दाेहनका कारण पृथ्वीकाे तापक्रम अप्रत्याशित रुपले बढी रहेकाे छ, हिमालहरु कालाे पत्थरमा परिणत हुँदै छन्, वायु प्रदुषणले सिमा नाघिसकेकाे छ, समुन्द्र सतह बढेकाे छ, नदीहरुका पानी दुषित भएका छन्, नदी र समुन्द्र प्लास्टिकले भरिएकाे छ, ओजन तह पातलिदै छ, ध्वनी प्रदुषण पनि उस्तै छ, खनिज पदार्थहरु सकिँदै छन् । यस्ता समस्या सायद लेखिराख्ने हाे भने १ दिन भन्दा बढी समय पनि लाग्न सक्छ वा त्याे भन्दा पनि बढी !

एक वातावारण विधार्थीको विश्वको विकासको अवधारणा माथि आलोचनात्मक दृष्टि :

यो कुरा एकदम सही हो कि आज भन्दा पहिले विश्वमा यति धेरै विकास अनि शान्ति कहिले पनि थिएन । आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, र अहिलेको पूँजीवादी युगसम्म आइपुग्दा अनगिन्ती युद्धहरु भए । जसमा राष्ट्रहरु बीच दुइ भयानक विश्व युद्धहरु पनि थिए । आज अपवाद बाहेकका सबै ठाउँहरुमा युद्धहरु रोकिएका छन् । कति राष्ट्रहरुमा त यो पूँजीवादी युग समाप्त पारेर साम्यवादी युग बनाउने भनेर पनि आफ्नो ज्यान लाखौंमा गुमाए । विचारहरुको द्वन्द्व त अहिले सम्म पनि चलिरहेकै छ । साथै यसै क्रममा मानवजातिले अनेक कुरा आविष्कार गर्न सफल त भयो तर उसले वातावरणलाई आफ्नो जीवनका लागि कष्टकर बनाउँदै छ भन्ने कुरा पत्ता लगाउन धेरै समय लगायो (सन् १९६२ मा पहिलो पटक पर्यावरण राजनीतिक बहसको विषय भएको थियो।) विज्ञान प्रविधिको उच्चतम विकासले संसारलाई सानो र ठुलो दुवै बनाएको छ, सानो यस कारणले बनाएको छ कि आज सेकेन्डमा विश्वको एउटा कुनाबाट अर्को कुनामा संवाद गर्न सकिन्छ । अनि ठुलो यसरी बनाएको छ कि एउटा सानो चिपमा पुरै संसार भरीका अनलाइन पुस्तकहरु राख्न सकिन्छ । समस्याहरु हल भएका जस्तो देखिन्छन् तर टाढाबाट चम्किलो देखिने हिमालको ठन्डीले त्यहाँ वरपर बस्ने व्यक्तिहरुको जीवन कहिलेकहीँ कष्टकर बनाउँछ भन्ने यथार्थ पनि हामीले भुल्नु हुँदैन। त्यसैले त संसारकै पछिल्लो हजार वर्षका सबै भन्दा बौद्धिक मानिएका कार्ल मार्क्सले आफ्नो दर्शनशास्त्र द्वन्द्वात्मक भौतिकवादको व्याख्या गर्दा उल्लेख गरेका छन्, “वस्तुको सकारात्मक र नकारात्मक पाटा दुवै हुने गर्दछन्, त्यसैले हामीले सकारात्मक सँग एकता र नकारात्मकसँग सङघर्ष गर्नु पर्दछ।”

त्यसैले आज विकास भएको उच्चतम प्रविधिले संसार कता उन्मुख हुँदै छ भन्ने अध्ययन गर्न जरुरी छ । आज आँखाले नदेख्ने अणुबाट मानवता नै खतरामा पर्ने परमाणु बम बनिसकेको छ र अन्तरिक्ष नै भ्रमण गर्न सकिने प्रविधि पनि आइसकेको छ। यस्तो विश्वमा पनि केही यस्ता तथ्यहरु छन् जुन अप्रत्याशित रहेका छन् । अक्सफार्मले २०२१ मा प्रकाशन गरेको एउटा तथ्याङ्कलाई आधार मान्ने हो भने विश्वमा प्रति मिनेट ११ जना व्यक्ति भोकमरीले ज्यान गुमाउनु पर्ने बाध्यात्मक स्थिति रहेको जानकारी गराएको छ । अझ पेचिलो त के रहेको छ भने खाना नपाएर ज्यान गुमाउनेको भन्दा धेरै खाएर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो छ । पूँजीका हिसाबले भने धनी र गरीब बीचको खाडल व्यापक बढेको छ । विश्वका ५० जना धनाढ्यसँग ५०% गरीब जनसङ्ख्या भन्दा बढी पूँजी थुप्रिएको छ भने ६ अरब भन्दा बढी जनसङ्ख्या प्रतिदिन १६$ भन्दा कममा आफ्नो जीवन गुजारा गरिरहेका छन्।

यसै विषयमा लेखक तथा पर्यावरणवीद डा. वन्दना शिवा आफ्नो किताब ONENESS vs the 1% Shattering Illusions, Seeding Freedom मा लेख्छन् “यस्तो समय हाम्रो सामु प्रकट भएको छ, जहाँ १% ले बिना कुनै जिम्मेवारी वा जवाफदेहिता अकुत सम्पत्ति थुपार्न हाम्रो ग्रह, हाम्रो साझा घर नष्ट गर्दैछन् किनभने उनीहरुले मानव र पृथ्वीको सम्बन्ध विच्छेद गर्ने चलाखीपूर्ण तरिकाहरु फेला पारेका छन्, त्यसैले हामी सबैको साझा सम्पत्ति र भविष्य छैन” यसरी उनी प्राकृतिक श्रोतको अधिकतम प्रयोग गर्दा पनि समाजमा विद्यमान अन्तरविरोधहरु झन् बढेको कुरालाई व्याख्या गर्छन् । यी सबै तथ्य मार्फत हामी सजिलै निष्कर्षमा पुग्न सक्छौ कि विकास वर्गीय छ तर यसले साझा पर्यावरण र सिङ्गो मानवजातिलाई असर गरेको छ । त्यसैले विकास पर्यावरणमैत्री र सबै वर्गलाई हुनु आजको आवश्यकता हो ।

अन्त्यमा, मानवजाति पृथ्वीको स्रोत र साधन प्रयोग गरेर आफ्नो जीवन अघि बढाइ रहेको छ। यसले निरन्तर खोज र अनुसन्धान गरेर यहाँसम्म आफ्नो यात्रा तय गरेको हो। यति धेरै पूँजी मानवजातिले आज भन्दा पहिले कहिल्यै पनि थुपारेको थिएन र यति धेरै पर्यावरणको दोहन गरेको पनि ! तर समानता अझै आएन, उल्टो आफैँ विलुप्त हुने संघारमा पुगेको छ । जलवायु परिवर्तनले कार्बन उत्सर्जनमा भाग नलिनेलाई पनि नछोड्ने भयो किनकि यसले राजनीतिक सिमा हेर्दैन, जसले गर्दा सबै भन्दा जोखिम न्यून आय भएका राष्ट्रहरुमा तीब्र रहेको छ। विश्वका दुई शक्तिशाली राष्ट्रहरु म पछि चाहे जगत नै प्रलय होस् ! भन्ने अमेरिका(पुँजीवादी) र पार्टीका नीति नै एकमात्र मुक्तिको मार्ग सम्झिने, अभिव्यक्ति स्वतन्त्रता बिनाको जनता बनाउने प्रयत्न गरिरहेको र आफु विरोधी केही कुरा आए जनताको नै प्रलय होस्! भन्ने चीन(साम्यवादी) दुवै पर्यावरण प्रति त्यति गम्भीर भएको देखिदैन ।

अमेरिकाले पर्यावरण जोगाउन गर्नुपर्ने सम्झौता अर्थात पेरिस सम्झौतामा (जसको मस्यौदा सन् २०१५ तयार गरी २२ अप्रिल २०१६ मा सम्झौतामा विश्वका १९५ राष्ट्रहरुले गरेका छन्) आबद्ध रहेको छैन भने चीन कार्बन उत्सर्जनमा अझैसम्म पनि प्रथम स्थानमा रहेको छ । यसले कुनै पनि वाद पर्यावरण प्रति गम्भीर नभएको अहिलेलाई सावित भएको छ । अहिले नवीकरणीय ऊर्जा तर्फ विश्व उन्मूख हुदैछ र हुन पनि पर्छ । एकैछिन् काल्पनिक रुपमा मानौ कि १००% ऊर्जा नवीकरणीय नै भयो तर यो नव-उदारवादी अर्थव्यवस्थाले वर्गीय खाडल भने हल गर्ने पक्कै छैन ! विकल्प व्यवस्थाको पनि चाहिएको छर्लङ्ग छ। त्यसैले यी सबै क्षेत्रमा रहेका समस्या समाधान गर्न प्रकृतिलाई बुझ्न अति आवश्यक छ । संसार विकाससँगै विनाश तर्फ पनि उन्मुख हुँदैछ,यसलाई बदल्नु छ ! त्यसका लागि पहिले संसार बुझ्नु छ र यही संसार बुझ्नु भनेकै वातावरण विज्ञान अर्थात प्रकृति बुझ्नु हो । खैर, विज्ञान भनेकै विकल्प भनेको हो । त्यसैले सानो खोज पनि मानवजातिकै लागि क्रान्तिकारी बन्ने दिन आएको छ । त्यसैले यो विषयको सान्दर्भिकता मानवजातिसँगै अरु प्राणीहरुलाई पनि विलुप्त हुन नदिन र अन्य बहुआयामिक अध्ययन-अनुसन्धानका लागि पनि तिब्र रूपमा बढेको छ । साथै हामीले यस विषयमा भूमिका अहिले र आजबाट नै खेल्नै पर्ने समय आएको छ ।थाहायात्रा बाट 

  • (लेखक काठमाडौं विश्वविद्यालयमा वातावरण विज्ञान अध्ययनरत विद्यार्थी हुन् ।)

world-link-1690434568.jpg
सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...