Friday, 19 Apr, 2024
विचार / अन्तरवार्ता

मकवानपुरका प्रमुख पर्यटकीय गन्तव्य

BIII-1-1536x1086-1674021937.jpg
  • विष्णुप्रसाद आचार्य

भाइबहिनी हो, ‘तपाईंहरूले आफ्नो गृहजिल्ला मकवानपुरको कुन–कुन भाग डुल्नुभएको छ ? यसको साटो खुरुक्क पसलमा गएर खाजा खानु, सिनेमा हेर्नु, टिकटक बनाउनु वा फेसबुक चलाएर बस्नु नि ! आखिर जसरी भए पनि मनोरञ्जन गर्नु न हो । तर वास्तविकता अलि फरक छ । पछिल्लो अवस्थालाई हेर्ने हो भने विश्वव्यापी रूपमा नै घुम्नका लागि ठूला सहर भन्दा निर्जन जङ्गलका क्षेत्र, नदी, खोला, गुफा, झरना र हिमाली भूदृष्यको अवलोकन गर्नेको सङ्ख्या निकै बढेको छ । वन्यजन्तुको गतिविधि हेर्न, चराको आवाज सुन्न, चाँदीझैँ टल्कने हिमदृश्य वा मनमोहक भू–शृङ्खलाको अवलोकन गर्न घन्टौँ हिंड्ने प्रवृत्तिमा निकै वृद्धि भएको छ । यसका लागि मानिस लामो दूरी तय गरेर कतिपय अवस्थामा विदेशबाट समेत धेरै पैसा तिरेर आउने क्रम बढिरहेको छ ।

 

निश्चय पनि प्रकृतिप्रतिको यो लगाव प्रकृतिप्रेमी हामी सबैका लागि निकै उत्साहजनक सूचक हो । यसरी ठूलो सहर, आलिशान महलको साटो निर्जन स्थानको भ्रमण गर्न किन रुची जागेको होला ? अनि यस्तो अवस्थाको पर्यटनलाई के भनिन्छ होला ? पर्यापर्यटन (ecotourism) पर्यटनका धेरै विधामध्ये पर्यापर्यटन एक हो, जसले प्रकृतिमा आधारित (Nature Based tourist) पर्यापर्यटनमा जोड दिन्छ । ‘पर्या’ र ‘पर्यटन’ दुई शब्द मिलेर पर्यापर्यटन बनेको छ, जसमध्ये ‘पर्या’को अर्थ पर्यावरण अर्थात् वातावरण, जसले वनस्पति, वन्यजन्तु वा प्रकृतिसँगको घनिष्टता वा जैविक तत्वबीचको अस्तित्व र अन्तरसम्बन्धलाई बुझाउँछ । यसैगरी ‘पर्यटन’को अर्थ बसोबास गरिरहेको स्थान वा क्षेत्रभन्दा बाहिर स्वदेश वा विदेशमा कम्तीमा एक रातदेखि बढीमा एक वर्षसम्मको समय व्यतित गर्नु भन्ने हो । पर्यटन शब्दले घुमफिर भन्ने अर्थ बुझाउँछ ।

यसरी पर्यापर्यटनले प्रकृतिमा आधारित रहेर गरिने पर्यटन भन्ने बुझिन्छ, जसले धुँवाधुलो निषेध गर्ने, त्यहाँको वन्यजन्तु, जैविक विविधताको प्रवर्धन गर्ने, प्राकृतिक स्रोतको दोहन एवं वनजङ्गल नोक्सानीलाई निरुत्साहित गर्ने र पत्रु खाना (जङ्कफुड)लाई विस्थापित गर्दै स्थानीय परिकार एवम् अर्गानिक खाद्यको प्रबर्द्धन गर्ने, जसले स्वास्थ्यका साथै स्थानीय जनताको जीविकोपार्जनमा सहयोग गर्ने समेत उद्देश्य राख्छ । पर्यापर्यटनले स्थानीय क्षेत्रको वातावरणलगायत अन्य कुरामा सुरक्षित पर्यटनमा जोड दिन्छ अथवा ‘त्यहाँ जाऔँ, तस्बिर लिऔँ, पैतालाको डोब वा चिन्ह छोडौँ ।’ ती बाहेक ‘केवल आँखाले मात्र अवलोकन गर’ भन्ने सिद्धान्तमा विश्वास गर्दछ ।

आजको परिवेशमा यस प्रकारको पर्यटनले विश्वव्यापी रूपमा प्रभाव छाडेको छ । पर्यापर्यटनले यात्रुलाई त्यहाँको जनजीवन, संस्कृति, धार्मिक आस्था, वातावरणप्रति उत्तरदायी गराउँदै, ती कुराप्रति सम्मान व्यक्त गर्दै, त्यहाँको प्राकृतिक एवम् सांस्कृतिक धरोहरको संरक्षणका लागि प्रोत्साहन गर्दछ । समग्रतामा भन्नुपर्दा प्राकृतिक एवं सांस्कृतिक वातावरणलाई बाधा नहुने गरी गरिने प्रकृतिमैत्री यात्रा नै पर्यापर्यटन हो ।

नेपाल सन्दर्भ

नेपालको सन्दर्भमा पर्यापर्यटनको क्षेत्र विशाल र अति उपयोगी देखिन्छ । नेपालमा भएका नदीनाला, सीमसार क्षेत्र, पहाड, लेकवेशी, मैदान, तालतलैया, जङ्गल, वन्यजन्तु, हिमाली श्रृङ्खला, मठमन्दिर, सांस्कृतिक धरोहर, स्थानीय कला, सीप इत्यादिले पर्यापर्यटनको सम्भावनालाई उजागर गर्दछ । देशको कुल भू–भागको करिब ४५ प्रतिशत भू–भाग ओगट्ने वन क्षेत्र र यससँग सम्बद्ध रहेका विविध क्षेत्र पर्यापर्यटनका सबैभन्दा उपयुक्त क्षेत्र हुन् । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्साले नेपालका संरक्षित क्षेत्रलाई पर्यटनको मुख्य गन्तव्य बनाउने गरेको तथ्यले यो कुराको पुष्टि गर्दछ ।

नेपालका २० वटा संरक्षित क्षेत्र नै विविध विशेषताले भरिएका छन् । सबै नै पर्यटकीय दृष्टिकोणले अब्बल छन्, जसमध्ये दुईवटा चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा पर्दछन् । मकवानपुरका प्रमुख पर्यापर्यटकीय गन्तव्य नौ जिल्लाले छोएको यातायातको हिसाबले झन्डै केन्द्रमा पर्ने, उपत्यका जोड्ने प्रायः सबैजसो मार्गले छोएर जाने र जिल्लाभित्र पनि सडक सञ्जालले सहज बन्दै गएको यो जिल्ला बागमती प्रदेशको राजधानी हो । यसको पूर्वमा सिन्धुली र काभ्रे, पश्चिममा चितवन र धादिङ, उत्तरमा काठमाडौँ, ललितपुर र दक्षिणमा रौतहट, पर्सा र बारा पर्छन् । २,४२६ वर्गकिमि क्षेत्रफल रहेको यो जिल्लाको करिब ६७.८७ प्रतिशत भू–भाग वनक्षेत्रले ढाकिएको छ । अधिकांश क्षेत्र (करिव ७५ प्रतिशत) पहाडी क्षेत्रले ढाकिएको यो जिल्ला हाइकिङ, ट्रेकिङको हिसाबले उत्कृस्ट गन्तव्य बन्न सक्ने देखिन्छ ।

जिल्लामा भूगोलको उतार चढाव छ । जिल्लाको सबैभन्दा होचो स्थान राईगाउँको हात्तीढुङ्गा (१६६ मिटर) हो भने अग्लो स्थानको रूपमा चन्द्रागिरी (२,५८४ मिटर) रहेको छ । यसको कारणले पनि जिल्लामा उष्ण प्रदेशीय हावापानीदेखि समशितोषण हावापानीसम्म पाइन्छ । वनस्पति, जैविक विविधता र हावापानीको हिसावबाट यो जिल्लालाई प्रकृतिको बरदान भन्दा पनि फरक नपर्ला । मकवानपुर आफैंमा गर्विलो इतिहास बोकेको, राजनीति, कला, साहित्य, संस्कृतिको धनी, जैविक विविधताको भण्डार, धार्मिक गन्तव्य, औद्योगिक गन्तव्य, विस्तार हुँदै गरेको सहरीकरण र बागमती प्रदेशको राजधानी आदि कारणले उत्कृष्ट छ । मकवानपुरलाई गन्तब्य बनाउँदा आफ्नो उद्देश्य के हो ? त्यसलाई छनोट गरियो भने सहज हुन्छ । अन्यथा यहाँ के हेर्ने, के नहेर्ने भन्ने द्विविधा हुन सक्छ । यस जिल्लाका मुख्य विशेषता निम्न छन्ः

फरक भाषा, भेषभुषा, रहनसहन, संस्कृतिको धनी तामाङ, मगर, दनुवार राई, नेवारको पुरानो बस्ती, लोपोन्मुख चेपाङ, अति लोपोन्मुख बनकरियालगायत जनजातिको बासस्थान भएको जिल्ला ।

अङ्ग्रेजकालीन किल्ला एवम् गढी, तोप, सेनवंशीय राजाको दरबार, सामरिक हिसाबले महत्वपूर्ण चिसापानीगढी, मकवानपुरगढी, सहिद स्मारक, इन्द्रसरोवर (७ किमि लामो मानवनिर्मित ठूलो एवम् एसियाको पहिलो ताल) एसियाको पहिलो मानिएको चुरिया सुरुङ आदि ।

बृहत् जैविक विविधता, तल्लो भेगमा साल, अस्ना, सल्लो प्रजाति, माथिल्लो भेगमा सल्लो, लौठसल्ला, गुराँस, खस्रुलगायत चौडापाते प्रजाति, जडिबुटीको प्रचुरता, दुर्लभ वनस्पति भोटेलहराको बासस्थान, विविध जनावरको प्रचुरता, सालकको बाक्लो उपस्थिति, नेपालमा एकै जिल्लामा ३ वटा बोटानिकल गार्डेन (वृन्दावन, टिस्टुङ र दामन) भएको एक मात्र जिल्ला ।

सुनगाभाको प्राकृतिक म्युजियम, नेपालमा धेरै प्रजातिको सुनागाभा पाइने जिल्लामध्ये मकवानपुर एक हो । नेपालमा पाइने ९० जातिका सुनगाभामध्ये यो जिल्लामा ६२ प्रजातिका सुनगाभा पाइन्छ । सुनगाभाको अधययन गर्न चाहनेका लागि यो एक ‘हटस्पट’ नै हो ।

नेपालको सहरी वनमा नमूना सहर हेटौंडा नेपालकै हरित सहरको अभियन्ता हो । र, यहाँको हरियाली अन्य सहरका लागि समेत अनुकरणीय छ । मल्लकालीन राजा नरेन्द्रदेव राजा हुन् भन्ने एक मात्र प्रमाण साविकको चित्लाङ गाउँपालिकामा परेको शिलालेखले पनि मकवानपुरको ऐतिहासिकता झल्काउँछ । सम्राट अशोकले नेपाल भ्रमणका क्रममा स्थापना गरेको अशोक चैत्य, शिवालय, विभिन्न पुरानो मूर्ति एवं गोपालीगाउँ आदिले यसको ऐतिहासिकता पुष्टि हुन्छ ।

नेपालका सबैजसो राजमार्ग, प्रस्तावित सुरुङ मार्ग, फास्ट ट्रयाकले छुने, काठमाडौँलाई जोड्ने एक मात्र पुरानो ऐतिहासिक त्रिभुवन राजपथ, राणाकालीन भीमफेदी मार्ग, नेपालको सबैभन्दा पुरानो फरेस्ट्री कलेज (पहिला भीमफेदिको सुपिङमा पढाई, हालः हेटौँडा), नेपालको पहिलो केवलकार (रोपवे) हेटौँडा – काठमाडौँ चन्द्रागिरि (फाखेलदेखि टिस्टुङसम्म), महाभारत शृङ्खलाः बेतिनीदेखि खैराङ्गसम्म, चुरेः राइगाउँदेखि मनहरीसम्म सबै भूबनोट रहेकाे छ । नेपालको ठूलो र पुरानो औद्योगिक क्षेत्रमध्ये एक हेटौंडा औद्योगिक क्षेत्र, अहिले नयाँ थप मुजुरधापमा समेत निर्माणाधीन रहेको औद्योगिक नगरी ।

नेपालको प्रमुख राजनीतिक आन्दोलनको केन्द्र, किसान आन्दोलन, मजदुर आन्दोलन, विद्यार्थी आन्दोलनको केन्द्र, विद्रोही दार्शनिक रुपचन्द्र विष्टको जन्मस्थान, थाहा दर्शनको उद्भव स्थल । विभिन्न धार्मिकस्थल (चुरियामाई, भुटनदेवीमाई, मनकामना, पशुपति मन्दिर, पुण्य क्षेत्र आश्रम, अग्निहोत्र आश्रम, तपोवन, मानवसेवा आश्रम, आमाघर, मामाघर, दिव्य निकेतन आश्रम आदि)को सङ्गम । हाइकिङ, ट्रेकिङका लागि अनुपम सङ्गम । हाइकिङ ट्रेकिङ रुट पछिल्लो समय युवामाझमा हाइकिङ र ट्रेकिङले अत्यन्त ठूलो आकर्षण पैदा गरेको छ । मूलतः छुट्टिको सदुपयोग गर्दै एकदिने वा बहुदिने पदयात्राले मन मस्तिस्क र शरीरलाई चङ्गा बनाउने हुँदा यो लोकप्रिय बन्दैछ । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा हाइकिङ, ट्रेकिङ गर्ने समूह स्वयंसेवी संस्थाको रूपमा गठन हुँदैछ । कयौँले वर्षौँदेखि नयाँ गन्तव्यमा डुल्ने र डुलाउने काम गरिरहेका छन् ।

अत्यन्त प्रखर सम्भावना एक समयको अत्यन्त चर्चित र ऐतिहासिक रुट हुँदाहुँदै पनि यातायातको साधनको वृद्धि र पहुँच, प्रचार– प्रसार एवम् चेतनाको अभाव, नेतृत्व गर्ने संघ÷संस्थाको अभावलगायत अन्य कारणले यहाँका यी स्थान निकै पछि परेका छन् । यसका लागि यहाँका समन्वय समिति, पालिका (मूलतः उत्तरी भेगका), वन कार्यालय, होटल व्यवसायी संघ, पर्यटनमा कार्यरत संघसंस्थाको समन्वयमा पुरानो रुटको पुनरुत्थान गर्ने, नयाँ रुटको खोजी गर्ने, त्यहाँको पूर्वाधारमा सहयोग गर्ने, वरिपरिका स्थानमा आवश्यकताअनुसार होटलको स्तरोन्नति, होमस्टेको स्थापनामा सहयोग प्रचार–प्रसार आदि गर्नुपर्ने देखिन्छ । यसका लागि मकवानपुरका छिमेकी जिल्लाको पालिका, सरकारी कार्यालय र संघ/संस्थासँग समन्वय गर्न सकिन्छ ।

यहाँ सबै रुटको व्याख्या सम्भव हुँदैन । तर उत्तरी बेल्टका सबैजसो पालिकाको ग्रामीण क्षेत्र, त्यहाँको प्राकृतिक र घनाजङ्गल क्षेत्रलाई समेटेर थुप्रै रुटको निर्माण गर्न सकिन्छ । गुराँस पदमार्ग, सुनगाभा पदमार्ग, काठमाडौँ–चन्द्रागिरी– चित्लाङ जोड्ने विभिन्न पदमार्ग, इन्द्रसरोवर सर्किट, चित्लाङ–देउराली–भीमफेदी मार्ग, भैंसे–अघोर–सिम्भञ्ज्याङ, दामन–पालुङ आदि क्षेत्रलाई लामो वा छोटो दर्जनौँ विभिन्न पदमार्ग तय गर्न सकिन्छ । जताततै हरियाली, घना जङ्गल, बीचबीचमा अनगिन्ती खोलाखोल्सी, गुराँस, लौठसल्ला, विभिन्न सुनाखरीको बाहुल्यता रहेको अनि चराचुरुङ्गीको बास्थानको अध्ययन गर्ने हिसाबमा यसलाई विकास गर्न सकिने छ । यसैगरी धेरै याद नगरिएको तर प्रचुर सम्भावना रहेको लोथर खोलादेखि राक्सिराङको शिलिङ्गे हुँदै कैलाशबाट पालुङ निस्कन सक्ने र खैराङदेखि धादिङसम्मको सानदार रुट निर्माण गर्न सकिन्छ । यो रुटलाई चेपाङ रुट, चिउरी रुट र त्यहाँ उत्पादन हुने महलाई आधार मानेर एउटा राम्रो गन्तव्य निर्माण गर्न सकिन्छ ।

सानो रुटका लागि हेटौडा आसपासका भैरवडाँडा, मनकामना मन्दिर अनि गढीसम्मको रुट तय गर्न सकिन्छ । गढीदेखि गढीसम्म (मकवानपुर गढीदेखि सिन्धुलीको हरिहरपुरगढी, सिन्धुलीगढी) रुट बनाउने हो भने यसले केवल हाइकिङ मात्र गराउँदैन, त्यहाँको कला, संस्कृति आदिको पनि गहन अध्ययन गर्न सिकाउँछ । हालै अत्यधिक चर्चामा रहेको लटरम्भेश्वर महादेवलाई एक गन्तव्य मनाएर त्यहाँबाट नयाँ गन्तव्य जोड्न सकिन्छ । यसैगरी ठिङ्गनक्षेत्र, राइगाउँ, फापरबारी क्षेत्रलाई समेटेर एउटा गन्तव्य बनाउन सकिन्छ भने बागमती करिडोरलाई आधार मानेर राइगाउँ, धियाल आदिलाई समेटेर तराईका जिल्लामा पुग्ने गन्तव्य तराई मार्ग वा बागमती रुटको विकास गर्न सकिन्छ । यी केवल प्रतिनिधि नाम मात्र हुन् अन्य नयाँ गन्तव्यको निर्माण तथा पुराना पदमार्गको पुनरुत्थान गर्न सकिन्छ तर यसका लागि हामी सबैको प्रतिबद्धता चाहिन्छ ।

सम्भावित पर्यापर्यटकीय क्षेत्र

हेटौँडाभित्रः

सहिद स्मारक, चुरिया सुरुङ, मूर्ति बगैंचा हर्नामाडी, पुष्पलाल पार्क, कुस्माङ सरोवर एवं त्रिवेणीधाम, पुन्यक्षेत्र आश्रम, तपोवन, अग्निहोत्र आश्रम, मनकामना मन्दिर, बनस्खन्डी, पाथिभरा मन्दिर एवं आसपास क्षेत्र, बनकरिया होमस्टे, वन विज्ञान अध्ययन संस्थान एवं प्राकृतिक म्युजियम, हर्नामाडी गोरक्ष ताल, चरा, माछा एवम् सिमसारको अध्ययनका लागि माछापालन केन्द्र, बृन्दावन, जुरेथुम, गुहवारी गुफा, राजमार्ग हरित पार्क नेवारपानी आदि ।

थाहा नगर पालिकाः

दामन, टिस्टुङ, सिमभन्ज्याङ जैविक क्षेत्र, दामन र टिस्टुङको बोटानिकल गार्डेन, दामन भ्यु टावर, दामनको लामोसिढी, सिम्भञ्ज्याङ्मा सूर्योदय र सूर्यास्त अवलोकन स्थल, मैत्री बगैंचा, राष्ट्रिय बिभूति पार्क, पालुङ उपत्यका, उनिउचौर, डाँडाबास क्षेत्र, गुराँस पदमार्ग, सुनगाभा पदमार्ग, कुलेखानी सर्किट, चिउरी पदमार्ग (सिलिङे) दामन– पालुङ सर्किट, चित्लाङ बाख्रा फारम, ऋषेश्वर मन्दिर एवम हाइकिङ मार्ग, दामन–पालुङ हाइकिङ मार्ग आदि । प्राचीन गोपाली गाउँ, विभिन्न मठमन्दिर, अशोक चैत्य, बाख्राको चिज उत्पादन केन्द्र, विभिन्न होमस्टे, प्राचीन गुर्जुधारा, विभिन्न झरना, भालेश्वर महादेव, चित्लाङ भ्यु टावर, नर्वे ढुङ्गा आदि । मनहरी ः मनहरी पिस पार्क एवं आमा घर, रमौली जङ्गल सफारी, देवकोट, रानिताल, लोथर–पुन्यक्षेत्र जैविक मार्ग, चुरिया रेन्ज, बफर जोन, मित्र बगैंचा (सालक पार्क) र आसपासका क्षेत्र ।

मकवानपुरगढीः

मकवानपुरगढी दरबारक्षेत्र, मनकामना मन्दिर धादिङगढी हाइकिङ रुट, गढी (मकवानपुर गढीदेखि सिन्धुलीगढी) ।

बकैयाः

गौतम बुद्ध पर्यटन पार्क, धनेश्वर पार्क, बकैयाठाकुर पर्यटन पार्क ।

बागमतीः

सहिद स्मारक, झुरझुरे, गेल्मे दरबार क्षेत्र, बेतिनी पिकनिक स्पट ।

भीमफेदीः

चिसापानीगढी, त्रिखण्डी मन्दिर, बुङ्दल झरनालगायत अन्य झरना, पाहापार्क, भीमफेदी बजार र हात्तिसार, गुराँस पदमार्ग, कुलेखानी देउराली भीमफेदी मार्ग, कालीतोप एवं बटुकभैरव मन्दिर ।

राक्सिराङः

भिम्बुंग गुराँस पार्क, अशोक बाटिका, जलपरी झरना एवम् चमेरे गुफा, चेपाङ सङ्ग्रहालय, विभिन्न गल्छी महाभारत पर्वत शृङ्खला, खैराङको पर्वत, शिलिङ्गे चिउरी पकेट क्षेत्र एवम् पार्क, बगैंचा, मह हाइकिङ ।

कैलाशः

कैलाश बैकुण्ठ, देखरी पर्यटन पार्क, घैराङ पर्यटन पार्क

इन्द्र सरोवरः

इन्द्र सरोवर ताल र आसपासका क्षेत्र, भालेश्वर, मोहिनी झर्ना ।

माथि उल्लेखित नामले मात्र मकवानपुरका पर्यापर्यटकीय स्थलको पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैनन् । यसमा क्रमशः थप्दै जानुपर्ने हुन्छ ।

वन कार्यालयको भूमिका

वन कार्यालय मूलतः वन क्षेत्रको व्यवस्थापनमा जिम्मेवार रहन्छ तर वन क्षेत्रमा हुने फाइदा भनेको त्यहाँबाट प्राप्त हुने काठ दाउरा मात्र नभई यहाँका प्राकृतिक मनोरम दृश्य अनि त्यसबाट प्राप्त मनोरञ्जन पनि हो । यिनै कुरालाई मध्यनजर गर्दै पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी अधिकतम लाभ प्राप्त गर्ने, समग्र वनको हैसियतमा सुधार गर्ने, वातावरण र जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताको मौलिक सामाजिक, सांस्कृतिक मूल्यमान्यतामा बढावा हुनेगरी वनबिहार, जलबिहार, पार्क र उद्यान, अवलोकन, वनभोज, तस्बिरयात्रा, सिनेमा वा भिडियो छायाङ्कन, सूचना तथा सन्देशमूलक गतिविधि, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा अवलोकन जस्ता संरक्षण, रोजगारी तथा आयआर्जन सिर्जना हुने क्रियाकलाप सञ्चालन गरी समृद्धिमा टेवा पु¥याउने कार्य गर्न इच्छुक समूहलाई सहयोग पु¥याउन सरकारले सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन कार्यविधि, २०७५ जारी गरेको छ ।

पर्यापर्यटनको महत्वलाई अझ प्राथमिकता दिँदै वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ र प्रदेश सरकारको वन ऐन तथा नियमावलीमा समेत समावेश गरेर यसलाई एउटा मूलधारको रूपमा स्थापित गरेको छ । अहिले देशका हजारौँ सामुदायिक एवम् साझेदारी वनमा सङ्घीय सरकार, प्रदेश सरकार, पालिका, वन कार्यालयसँगको सहकार्यमा विभिन्न गन्तव्यको निर्माण गरिएको छ । यसले एकातिर वनको आम्दानीमा सहयोग पुगेको छ भने मानिसमा वनजङ्गल घुम्ने, रमाउने प्रवृत्तिको विकास भएको छ । वन कार्यालय सुरुदेखि नै पर्यापर्यटनको प्रवद्र्धनमा निरन्तर लागिरहेको छ ।

सीमित बजेटबाट समूह, स्थानीय समुदायको सहयोगमा अत्युतम बजेटको सदुपयोग गर्ने, ती क्षेत्रको प्रचार– प्रसार गर्ने, युवा विद्यार्थी, नागरिक समाजका सदस्यलाई हाइकिङ (एक दिने पदयात्रा), ट्रेकिङ (बहुदिने पदयात्रा) का बारेमा जानकारी गराउने, युवासँग वनका कुरा, स्कुल, कलेजका विद्यार्थीलाई केन्द्रित गरेर वातावरणीय शिक्षामा पुस्तिका प्रकाशन, ब्रोसर, तस्बिर प्रकाशन, रेडियो टिभीमा कार्यक्रम तयार गरी प्रचार गरिरहेको छ । आगामी दिनमा पनि यी र यस्ता कार्यक्रमका साथ अघि बढ्ने लक्ष्य राखेको छ । जिल्लाका सम्पूर्ण विद्यालयमा इको क्लब गठन गर्ने, इको क्लबको माध्यमबाट विद्यार्थीमा हाइकिङ ट्रेकिङको महत्व दर्शाउने, घुम्न, घुमाउन प्रेरित गर्ने यहाँको प्रकृतिको प्रचारप्रसारमा लगाउने आदि उद्देश्य रहेको छ ।

वन कार्यालयको टोली यो जिल्लाका विभिन्न पर्यटकीय स्थानको नियमित अवलोकन गर्ने, तिनको सामाजिक सञ्जाल र आफ्ना माध्यमबाट प्रचार गरी अभिप्रेरित गरिरहेको छ । तर अत्यन्त तीतो यथार्थ के हो भने यी कुराको प्रवद्र्धन विशुद्ध रूपमा गर्ने भनेको यहाँका स्थानीय जनता नै हुन् । यी कुराको पर्याप्त प्रचार गरेर पर्यटकीय गन्तव्य बनाउने हो भने यहाँको रोजगारी र समृद्धिमा सहयोग पुग्नेछ ।

युवा विद्यार्थीको भूमिका

पछिल्लो समयमा स्कुल, क्याम्पस, भाइबहिनीलाई समेत प्रकृतिको विषयमा कम जानकारी हुने अनि दिनभर सामाजिक सञ्जाल, मोबाइल, टेलिभिजनमा व्यस्त हुने तर मनोरम दृश्यमा रुची नहुने गम्भीर समस्या देखिएको छ, जसले शारीरिक एवं मानसिक समस्या निम्त्याउने समेत देखिन्छ । तर हामीले युवा विद्यार्थीलाई प्रकृतिमा केही समय भए पनि रमाउने कुराको अपेक्षा गरेका छौं । सबै स्थानमा एकैपटक अहिले नै पुग्नु पर्छ भन्ने हाम्रो अभिप्राय होइन तर सबै स्थानमा एक न एक पटक पुग्ने र पु¥याउने अपेक्षा गरेका छौँ । अहिले मोबाइल, टिभिले केटाकेटीलाई समस्याग्रस्त बनाएको अवस्थामा मोबाइल भन्दा पर पनि प्रकृतिको अनुपम छुट्टै मनमोहक संसार छ र त्यो संसारमा तपाईं आफू, आफ्ना साथी, बालबालिका, परिवारका सदस्यलाई निःशुल्क डुल्न र डुलाउन सक्नु हुनेछ, भरपुर मनोरञ्जन लिन सक्नुहुनेछ र आफ्नो स्वास्थ्यलाई आफैंले नियन्त्रणमा लिन सक्नुहुनेछ भन्ने सन्देश दिनु अहिले हाम्रो मुख्य दायित्व हो । ‘इको क्लब’का भाइबहिनीले आफ्नो क्लब वा साथीसँगको सहकार्यमा केही मात्र भए पनि भ्रमण गरेर, गराएर प्रकृतिप्रतिको प्रेमलाई उजागर गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं । यदि यी मध्ये केही मात्र काम हुन् मनहरी पिसपार्क एवम् आमा घर । सके हाम्रो प्रयास सार्थक भएको अनुभूति गर्नेछौँ ।

-डिभिजनल वन अधिकृत डिभिजन वन कार्यालय, राप्ती

डिभिजन वन कार्यालय राप्ती मकवानपुरद्वारा प्रकाशित 


world-link-1690434568.jpg
थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,
FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा...

माओवादी केन्द्र पुनरोदयको सन्निकट : ईन्चार्ज बिजय गौतम
1713453864566-1713453890.jpg

हेटौंडा/नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले माओवादी पार्टी...

थाहामा पाँच दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरु
IMG_20240418_121721_786-1713439276.jpg

थाहा नगरपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी पाँचदिने कार्यशाला सुरु गरिएको छ । थाहा नगरपालिकाको शिक्षा तथा युवा...

शिक्षाकाे गुणस्तर अभिवृद्धिको मागसहित थाहाको उपप्रमुख समक्ष नेविसंघको ज्ञापनपत्र
IMG_20240418_145509_348-1713436511.jpg

नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै देशभरका स्थानीय तहमा ज्ञापनपत्र...

बालबालिकालाई आज र भोलि भिटामिन ए खुवाइँदै
FB_IMG_1713411874078-1713411890.jpg

आजबाट सरकारले बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज र भोलि दुई दिन रकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए...

सहकारीहरु प्रणालीमा जादा व्यवस्थापन राम्रो हुन्छ:-जिसस प्रमुख घलान
437360699_134659162603034-1713367537.jpg

सहकारी संघसंस्थाहरुको प्रबर्द्धन तथा नियमनमा प्रभावकारिता ल्याउन तथा सहकारी क्षेत्रको एकीकृत तथ्यांक सिर्जना...

थाहा ३ का महिलाहरुले गाँजा र अल्लो बाट कपडा बनाउन सिक्दै,
FB_IMG_1713365575349-1713365634.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा सुरु भएको छ...

थाहानगरका सहकारीहरुका लागि तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु
1713201325801-1713201435.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा तीनदिने पल्स तथा कोपोमिस तालिम शुरु भएको छ । नयाँगाउँ स्थित साहारा...