jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

प्रदीप ज्ञवालीको कविताको बाटो
भन्छन्ः जब म नेताका रुपमा केही गर्न सक्दिनँ, अनि कविता लेख्छु

images-cms-image-00000344-1485003102.jpg

राजनीतिप्रति सामान्य चासो राख्नेका निम्ति प्रदीप ज्ञवाली अपरिचित नाम होइन। सांसद, मन्त्री हुँदै नेकपा एमालेका केन्द्रीय सचिवसम्मको भूमिकाले उनको आयतन नेपाली राजनीतिमा फराकिलो छ। मिजासिला, अध्ययनशील र इमान्दारिता ज्ञवालीका अतिरिक्त परिचय हुन्, मधुर बोलीले उनको व्यक्तित्वमा गजुर थप्छ। गाउँसहरका कुनाकन्दरा, देश चलाउने सिंहदरबारदेखि दूरदेशको यात्रा नियमित नै हुन्, उनका लागि। यी सबै दौडधुप राजनीतिक दौरानको कार्यतालिकाभित्रै पर्छ।

दिमागमा कुनै प्लट तयार भएपछि कुनै थकाइ र भीडभाडले रोक्न सक्दैन

यिनै ज्ञवाली एक दिन आफू जन्मिएको गाउँ गुल्मीको बलेटक्सार पुग्छन्। २२ वर्षको अन्तराललमा त्यहाँ उनी सामु एक चिरपरिचित पात्र उभिन्छन्। जो पात्र विस्मृतितिर बिस्तारै धकेलिंदै थिए। उनी बोल्न सक्दैनन्, जन्मँदै बोली खोसिएको छ। तर, उसको भविष्य अझै सुरक्षित छ। बलेटक्सारमा उसको परिचय विशिष्ट छ।

यो अवधिमा ज्ञवालीले बालापान बिताएको गाउँले रंग फेरेको छ। बस्ने घर, लगाउने लुगा, खाने खानादेखि थुप्रै चालचलन फेरिएको छ। शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता क्षेत्रमा 'क्रान्तिकारी' परिवर्तन नै भएको छ। अंग्रेजी मोहमा बलेटक्सारका नानीहरु बोर्डिङ स्कूल र पाठ्यक्रमतिर अभ्यस्त हुँदैछन्। तर, ज्ञवालीको सामुन्ने जो उभिएका थिए। उसका लागि यी सबै सुविधाहरू अझै असम्भव थिए।

त्यसपछि ज्ञवालीको मन भक्कानियो। र, एउटा शीर्षक फुर्‍यो– विद्रोहको आँगनमा लाटो कामी। केही हरफहरु मनमनै कोरिए–
‘रातभरि ओढेर तारामण्डलको बर्को
अँगेनातिर ढाड फर्काउन
कुस्ती प्रतियोगिता नै गर्छन् भुराभुरी! 
बिहान माडको पोखरीमा 
चामलका सिताहरुको माछा छोप्न
दौड प्रतियोगिता नै गर्छन् भुण्टाभुण्टी!’ 
यी हरफलाई ज्ञवालीले फुर्सदमा पूर्णता दिए। र, यो कविता ‘बिना शालिकका नायकहरु’ कविता संग्रहभित्र संग्रहित बनेर बजारमा आइसकेको छ। 
...
अब भनिरहनु परेन। प्रदीप ज्ञवाली कवि पनि हुन्। २० वर्ष अगाडि नै ‘चिता जलिरहेँछ’ कविता संग्रहमार्फत उनको कवि परिचय स्थापित भइसकेको थियो।

हुन त, उनले कविता लेख्न थालेको भने निकै पहिलेदेखि नै हो। पञ्चायतका समयमा भूमिगत राजनीतिका क्रममा ज्ञवालीले कविता लेख्न थालेका थिए। तर, नेता प्रदीप ज्ञवालीको सामुन्ने कवि प्रदीप ज्ञवाली होचा भइदिएको हुन सक्छन्। यसमा ज्ञवाली सहमत छन् पनि।

४३ वर्षको अवधिमा सयको हाराहारीमा कविता लेखेका उनी भन्छन्, ‘जुन विषय नेताका रुपमा गर्न सकेको छैन, त्यो विषय कविता भएर उभिन्छ।’

‘विद्रोहको आँगनमा लाटो कामी’ त्यस्तै एउटा अवस्था हो र पात्र हुन्। जसलाई नेताका रुपमा उनले उल्लेख्य केही गर्न सकेका छैनन्। आफ्नै निर्वाचन क्षेत्र मात्र नभएर पितापुर्खाका पालादेखि कृषिऔजार बनाउने यी लाटो कामीको दयनीयताबाट कवि प्रदीप ज्ञवाली पग्लिए।

कविताका हरफहरुमा बगेका लाटो कामीको सविस्तार बयान गर्न थाले– 'म पनि सामान्य परिवारबाटै आएको हुँ। सांसद, मन्त्री र यो तहको नेता भएपनि मेरो अवस्था उति धेरै सुध्रिएको छैन। धेरथोर परिवर्तन त भएकै छ। तर, जीविका धान्न पुस्तौनी फलाम पिट्दै आएका लाटो कामीको जीवनमा के परिवर्तन भयो त? घोत्लिए। आखिर केका लागि राजनीति गरिरहेको छु? प्रश्न गरे। नेता प्रदीप ज्ञवालीलाई कवि प्रदीप ज्ञवालीको जिज्ञासा थियो, यो।

देशमा पञ्चायती व्यवस्था ढल्यो, राजतन्त्र अन्त्य भयो। यी राजनीतिक परिवर्तनको अर्थ र सार्थकतालाई मैले यी पात्रको आरन, घन र औजारहरुसँग तुलना गरेँ। छिमेकीका बच्चाहरु राम्रा स्कूलमा पढ्छन्। तर, यिनीसँग खाने लगाउनेकै समस्या छ। हाम्रो राजनीतिक परिवर्तन अझै सामाजिक–सांस्कृतिक रुपान्तरणसँग जोडिएको छैन। बोक्रा–बोक्रामा कुद्यो, तर गुदीसम्म अझै पुगेकै छैन। यी अवस्थाबारे घोत्लिएपछि यी पात्रमार्फत् कवि ज्ञवाली भएर नेपाली समाजको वर्तमान अवस्था बुझाउनेगरी कविता लेख्ने प्रयत्न गरे। र, नेता प्रदीप ज्ञवालीलाई बुझाउनेगरी कविता तयार भयो– विद्रोहको आँगनमा लाटो कामी।

भन्छन्, 'जब मैले नेताका रुपमा राजनीतिमा केही गर्न नसकेको अनुभूति हुन्छ, अनि आफूलाई व्यक्त गर्न कविता लेख्छु।'

विद्रोहको खुर्पा अर्जापिरहेको बिम्बबारे ज्ञवाली भन्छन्, ‘उनी बोल्न सक्दैनन्। तर, उनको मुहारमा विद्रोहको झिल्को प्रस्ट देखिन्छ।’

वर्षौंसम्म जुन काम गरेरै आए उसलाई यो बेठीक लाग्न थालेको छ। समाजमा हेपिएको छु भन्ने अनुभूति उसमा देखिन थालेको छ। सम्मानपूर्वक बाँच्न पाउनुपर्ने चेत आउन आफैंमा ठूलो विद्रोह हो। विद्रोह हिंसात्मक नै हुनुपर्छ भन्ने हुँदैन।

लाटो कामीमा जागृत विद्रोहबारे कवि ज्ञवाली भन्दै गए– 'गाउँका विश्वकर्मा जातिले बालीघरे प्रथाको ठाउँमा ज्याला लिनु विद्रोह हो। पढ्न खोज्नु र पढ्नु सबैभन्दा ठूलो विद्रोह हो। समानताप्रतिको बोध उनको भावभंगीमा लुक्दैन। विभेदको कारण खोज्ने चेत अर्जापिँदै गएको छ। यही बोध नै उनको ठूलो विद्रोह हो। जुन बिस्तारै तिखारिदै गएको छ। यसैलाई कवितामा उतारेको छु।'
...
यसबाहेक ज्ञवालीका थुप्रै कविताहरु पात्रमा केन्द्रित रहेर परिवेश चिनाउने प्रकृतिका छन्। उनी भन्छन्, ‘कविताका धेरै पात्रहरू वास्तविक पनि हुन्। त्यसमा केही कलात्मक रंग लगाउने काम भएको छ।’

राजनीतिमा संलग्न भएकाले धेरै पात्रहरुसँग जमघट हुन्छ। समाज र पात्रका स्वभावहरुसँग गहिरो साक्षात्कारको मौका मिल्ने उनको बुझाई छ। जहाँ–जहाँ नेताका रुपमा पुग्छन्, सँगै पुगेका कवि मन पिरोलिन्छ र जन्मन्छ साहित्यिक सिर्जना। भन्छन्, ‘एउटा नेताका रुप लाटो कामी एक मतदाता हुन् या त्यो गाउँको जनसंख्याको एक सदस्य। तर, साहित्यिक मन आरानमा बस्छ, लाटो कामीको पीडा, वेदना र विद्रोहको झिल्काहरु देख्छ।’

तर, सबै साहित्यिक मनलाई सँधै राजनीतिक व्यस्तताले पूर्णता दिनबाट रोक्छ। व्यस्तता र दौडधुपले पात्रमार्फत् उत्पन्न मानसिक उद्वेलन र संवेदना विस्मृतिमा जान्छन्, साहित्यिक कृति बन्न सक्दैन। यसका बाबजुद पनि उनका थुप्रै कृतिहरू बजारमा छन्। कविता, कथा, उपन्यास र राजनीतिक–चिन्तनहरुमा आधारित गरी झण्डै दर्जन कृति प्रकाशित गरे, उनले।

समय कसरी मिलाउने र कुन बेला लेख्ने?

उनी जवाफ दिन्छन्, ‘साहित्य सिर्जनाका लागि तद्नुरुपको परिवेश र सन्दर्भ सामग्री राजनीतिकर्मीका लागि उपलब्ध गराउन सजिलो छैन। तर, प्रतिकुल अवस्थामा पनि लेख्न सक्छु, यो मेरो राम्रो पक्ष हो।’

ज्ञवालीले लेखेका सबै कृति रातको समयमा तयार भएका हुन्। ‘दिमागमा कुनै प्लट तयार भएपछि कुनै थकाइ र भीडभाडले रोक्न सक्दैन, राजनीतिबाट बचेको समय साहित्यिक सिर्जनामा लगाउँछु’, ज्ञवाली भन्छन्।

लगातारको कार्यकर्ता भेटघाट, निजी समस्या र फोन सम्वादबाट रातिको समय पनि बच्दैन उनको। यी व्यस्तताबीच साहित्यिक कृतिबाहेक निरन्तर अखबारी लेखनमा समेत भेटिने ज्ञवाली भन्छन्, ‘समाजले भोगेका पीडा, समस्या र तिनको निकासका सम्भावनाहरु देखेपछि मन आनन्दले निदाउन सक्दैन।’

  विद्रोहको आँगनमा लाटो कामी

-प्रदीप ज्ञवाली

रातभरि ओढेर तारामण्डलको बर्को
अँगेनातिर ढाड फर्काउन
कुस्ती प्रतियोगिता नै गर्छन् भुराभुरी! 
बिहान माडको पोखरीमा 
चामलका सिताहरुको माछा छोप्न
दौड प्रतियोगिता नै गर्छन् भुण्टाभुण्टी! 
परेलीका पातहरुबाट शीतको थोपा बर्साउँछिन्
आङ खसेकी कमिनी भाउजु 
र काँपेका ओठहरुबाट मौन गीत गाउँदै 
रेफ्री बनेर उभिइरहन्छ
हाम्रो गाउँको लाटो कामी!

पहेँलिएर झरे निर्दलीय पातहरु
र पलाइसके हरिया ‘प्रजातान्त्रिक’ मञ्जरीहरु 
तर ऊ त बगरको ढुङ्गोझैं 
कि त आँगनको सिख्रो बेलौतीझैं 
उभिएको छ उसैगरी ठिङ्ग!
कालो बादललाई चिरेर 
पूर्वको आकाशमा रातो घाम झुल्किए पनि 
मरुभूमिकी बहिनी जस्तै छ उसको करेसाबारी! 
कटेरामा रोइरहेको छ थारो पाडी 
ऊ आज पनि ‘बाली उठाउन’ 
बराजुका कुकुरहरु भुकाइरहेको छ 
घर–घर डुल्दै हात पसारिरहेको छ! 
‘अलि धेलै देऊन, केताकेती मल्न लागे’ 
मुखियाको आँगनमा उभिएर मन्त्र पढिरहेको छ
हाम्रो गाउँको लाटो कामी!

ठूला घरको रंगीन बार्दलीहरु सम्झिँदै
ऊ नियाल्दै छ उदास पिढीमा बसेर
कुटुकुटु दलिन खाइरहेका धमिराका दाँत!

आज कसैले नबोलेओ काममा! 
फूर्सद छैन उसलाई कसैको मेला आउन 
घनले ठोकिरहेछ आफ्नै आक्रोशको फलाम 
बगाएर सबै आँसु खलाँतीमा अर्जापिरहेछ 
पसिनाको पायनमा चोप्दै 
विद्रोहको यौटा खुर्पा 
हाम्रो गाउँको लाटो कामी! 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...